बुटवल । दुई वर्षअघि उद्घाटन भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बल्ल नियमित अन्तर्राष्ट्रिय उडान पुनः सुरु भएको छ । शुक्रबारदेखि कुवेतको जजिरा एयरलाइन्सले भैरहवाबाट पुनः व्यावसायिक उडान थाल्दा विमानस्थलमा चहलपहल बढेको छ ।
आज बिहान ७ बजेर ४० मिनेटमा जजिरा एयरलाइन्सको विमान १ सय ७१ जना यात्रु लिएर कुवेतबाट भैरहवा अवतरण ग¥यो । जहाजलाई विमानस्थलमा पानीको तोरणले स्वागत गरियो । अवतरण गरेको करिब एक घण्टा पछि, उक्त जहाज १ सय ६७ यात्रु लिएर पुनः कुवेततर्फ उड्यो । दुई वर्षअघि नै यस विमानस्थलबाट जजिरा एयरलाइन्सले उडान थालनी गरे पनि प्राविधिक समस्याले केही समयका लागि सेवा स्थगित भएको थियो ।



तीन अन्तर्राष्ट्रिय उडानको तयारी
शनिबारका लागि विमानस्थलमा विशेष तयारी गरिएको छ, जहाँ पहिलोपटक तीनवटा अन्तर्राष्ट्रिय उडान एकै दिन सम्पन्न हुनेछन् । जजिरा एयरलाइन्सले अबदेखि हप्तामा तीन पटक—मंगलबार, बिहीबार र शनिबार भैरहवा–कुवेत उडान गर्नेछ ।
त्यस्तै, आज नै मध्याह्नबाट फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौं मार्गमा उडान सुरु गर्नेछ । फ्लाई दुबईले साताका सबै दिन नियमित उडान भर्नेछ । प्राधिकरणबाट स्वीकृत तालिका अनुसार फ्लाई दुबईको विमान दैनिक दिउँसो १ बजेर ४५ मिनेटमा भैरहवा अवतरण गर्नेछ र २ बजेर ४५ मिनेटमा दुबईतर्फ उडान भर्नेछ ।
नेपाल एयरलाइन्सले पनि आज रातिदेखि काठमाडौं–भैरहवा–दुबई मार्गमा उडान सुरु गर्दैछ । सातामा चार दिन—आइतबार, सोमबार, बुधबार, र शुक्रबार—नेपाल एयरलाइन्सले यो मार्गमा सेवा दिने तालिका छ । नेपाल एयरलाइन्सको जहाज राति १० बजेर २० मिनेटमा काठमाडौंबाट भैरहवा अवतरण गर्नेछ र आधा घण्टा विश्रामपछि दुबईतर्फ उडान भर्नेछ ।
थाई एयर एसियाको पुनः आगमन
गत भाइटीकादेखि उडान सुरु गरेको थाई एयर एसियाले पनि पुनः भैरहवा विमानस्थलमा अवतरण गरेको छ । शुक्रबार मध्यान्ह उक्त विमानले ७ यात्रु ल्यायो भने ३२ यात्रु लिएर थाइल्यान्ड फर्कियो । आगामी सातादेखि थाई एयर एसियाले हप्तामा दुई दिन सोमबार र बिहीबार उडान गर्नेछ । निर्धारित तालिका अनुसार एयरलाइन्सको विमान मध्यान्ह सवा १२ बजे भैरहवा अवतरण गर्नेछ र एक घण्टा विश्रामपछि थाइल्यान्डतर्फ उडान भर्नेछ ।
विमानस्थलको चहलपहलमा बृद्धि
नियमित अन्तर्राष्ट्रिय उडान पुनः सुरु भएपछि गौतमबुद्ध विमानस्थलमा यात्रु र तिनका आफन्तको चहलपहल बढेको छ । नेपालका लागि कुवेतका राजदूत घनश्याम लम्साल पनि आजको उडानमार्फत स्वदेश फर्किनु भएको छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास भइरहेको भैरहवा विमानस्थलले अब नियमित उडानका माध्यमबाट स्थानीय तथा विदेशी यात्रुलाई थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।
यो नयाँ सुरुवातले क्षेत्रीय हवाई यातायातमा उल्लेखनीय सुधार ल्याउने आशा गरिएको छ ।



