ताप्लेजुङ- कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापनमा स्थानीय समुदायको नेतृत्व र सहभागिताको अवधारणालाई स्थापित गर्न योगदान पु¥याएका संरक्षणकर्मीहरूको स्मरण गर्दै ताप्लेजुङमा २० औँ राष्ट्रिय संरक्षण दिवस मनाइएको छ । दिवसका अवसरमा फुङ्लिङ नगरपालिका–४ भिन्तुना डाँडामा रहेका संरक्षणविद्हरूका सालिकमा माल्यार्पण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।वातावरण संरक्षण तथा विकास मञ्च ताप्लेजुङको आयोजनामा भएको कार्यक्रममा संरक्षणविद्का सालिकमा माल्यार्पण गर्दै उनीहरूले वातावरण तथा भू–संरक्षणका क्षेत्रमा पु¥याएको योगदानको स्मरण गरिएको थियो । कार्यक्रममा प्राकृतिक स्रोत, वातावरण र जैविक विविधताको संरक्षणमा स्थानीय समुदायको भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको मञ्चका अध्यक्ष खड्गविक्रम सुवेदीले जानकारी दिनुभयो ।
यस वर्षको राष्ट्रिय संरक्षण दिवस घुन्सा हेलिकोप्टर दुर्घटनाको २०औँ स्मृति वर्षका रूपमा समेत मनाइएको हो । विसं २०६३ असोज ७ गते कञ्चनजङ्घा संरक्षण क्षेत्रलाई स्थानीय समुदायको नेतृत्व र सहभागितामा व्यवस्थापन गर्ने ऐतिहासिक प्रक्रियामा सहभागी हुन ताप्लेजुङ आएका संरक्षणविद् तथा संरक्षणकर्मी घुन्साबाट फर्कने क्रममा हेलिकोप्टर दुर्घटनामा परेका थिए । दुर्घटनामा तत्कालीन वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, भूगोल तथा योजनाविद् डा। हर्क गुरुङ, संरक्षणविद् डा। तीर्थमान मास्केलगायत स्वदेशी तथा विदेशी गरी २४ जनाको निधन भएको थियो। संरक्षण क्षेत्रको व्यवस्थापनमा समुदायलाई नेतृत्व दिने अवधारणालाई व्यवहारमा उतार्ने महत्वपूर्ण अभियानमा सहभागी संरक्षणकर्मीको निधनले नेपालको संरक्षण क्षेत्रमा ठूलो क्षति पुगेको थियो।



कञ्चनजङ्घा संरक्षण क्षेत्रलाई स्थानीय समुदायको नेतृत्व र सहभागितामा व्यवस्थापन गर्ने अभ्यासलाई संरक्षणको क्षेत्रमा महत्वपूर्ण नमुनाका रूपमा लिइन्छ। स्थानीय समुदायलाई संरक्षणको जिम्मेवारी र लाभसँग जोडेर प्राकृतिक स्रोत तथा जैविक विविधताको संरक्षण गर्ने अवधारणाले संरक्षण र समुदायबीचको सम्बन्धलाई थप बलियो बनाएको संरक्षणकर्मीहरू बताउँछन्।घुन्सा दुर्घटनामा ज्यान गुमाएका संरक्षणकर्मीहरूको योगदानको स्मरण गर्दै सरकारले हरेक वर्ष असोज ७ गते राष्ट्रिय संरक्षण दिवस मनाउँदै आएको छ। दुई दशक बितिसक्दा पनि उक्त दुर्घटना संरक्षण क्षेत्रसँग जोडिएका समुदाय र सरोकारवालाका लागि ताजा स्मृतिका रूपमा रहेको छ।
कार्यक्रममा दिवङ्गत संरक्षणकर्मीहरूले अघि सारेको संरक्षण अभियानलाई निरन्तरता दिनुपर्ने, प्राकृतिक स्रोतको दिगो उपयोग गर्नुपर्ने तथा संरक्षणमा स्थानीय समुदायको सहभागितालाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिइएको थियो। माल्यार्पण तथा अन्तरक्रिया कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री खगेनसिं हाङ्गामलगायत सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो।



