काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नगरभित्रका छोरी–बुहारी तथा दलित समुदायका विद्यार्थीको उच्च शिक्षालाई प्रोत्साहन गर्ने उद्देश्यले विनियोजित छात्रवृत्ति बजेट कार्यान्वयनमा ल्याउने भएको छ । नगरपालिकाले चालु आर्थिक वर्ष ०८२-०८३ मा शिक्षा क्षेत्रमा लक्षित गर्दै विभिन्न शीर्षकमा छुट्टाएको छात्रवृत्ति कार्यक्रमलाई अब व्यवहारिक रूपमा लागू गर्न प्रक्रिया अघि बढाएको हो ।
नगरपालिकाको आ.व. ०८२–०८३ को योजना किताबअनुसार क्र.सं. १९६ अन्तर्गत ‘नगर छात्रवृत्ति कोष स्थापना एवं सञ्चालन’ शीर्षकमा ३० लाख रुपैयाँ विनियोजन गरिएको छ । यो बजेट नगरभित्रका सामुदायिक विद्यालय तथा क्याम्पसमा कक्षा ११ र १२ अध्ययन गर्ने तथा उच्च शिक्षा हासिल गरिरहेका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रयोग गरिनेछ ।



यसैगरी क्र.सं. १९४ अन्तर्गत ‘छोरी–बुहारी उच्च शिक्षा छात्रवृत्ति’ शीर्षकमा ५ लाख रुपैयाँ विनियोजन गरिएको छ । उक्त कार्यक्रमअन्तर्गत स्नातक, स्नातकोत्तर, एमफिल तथा विद्यावारिधीसम्म अध्ययनरत छोरी तथा बुहारीलाई छात्रवृत्ति उपलब्ध गराइनेछ ।
त्यस्तै क्र.सं. १९५ अन्तर्गत ‘दलित विद्यार्थी उच्च शिक्षा छात्रवृत्ति’ शीर्षकमा ३ लाख रुपैयाँ छुट्टाइएको छ, जसबाट स्नातकदेखि विद्यावारिधीसम्म अध्ययनरत दलित विद्यार्थीलाई सहयोग प्रदान गरिनेछ ।
नगरपालिकाको शिक्षा शाखाका शिक्षा अधिकृत बुद्धि भट्टले छात्रवृत्ति कार्यक्रममा सोचअनुसारको आवेदन नपरेको समेत जानकारी दिनुभयो । उहाँले सामुदायिक विद्यालय तथा क्याम्पसमा कक्षा ११–१२ तथा उच्च शिक्षा छात्रवृत्तिका लागि ५५ जना, दलित उच्च शिक्षा छात्रवृत्तिका लागि ७ जना तथा छोरी–बुहारी उच्च शिक्षा छात्रवृत्ति कार्यक्रममा ८७ जनाको निवेदन परेको बताउनु भयो ।
नगरपालिकाले छात्रवृत्ति वितरणलाई पारदर्शी र सहज बनाउने व्यवस्था पनि गरेको छ । शिक्षा अधिकृत भट्टका अनुसार नगरभित्रका सामुदायिक विद्यालय तथा क्याम्पसमा अध्ययनरत छात्राको छात्रवृत्ति रकम सम्बन्धित विद्यालय वा क्याम्पसको खातामै सिधै जम्मा गरिने छ । नगर क्षेत्र बाहिर अध्ययन गरिरहेका विद्यार्थीको हकमा भने रकम सम्बन्धित विद्यार्थीकै व्यक्तिगत बैंक खातामा पठाइने व्यवस्था गरिने छ ।
स्थानीय तहले शिक्षामा लगानी बढाउँदै छोरी–बुहारी र दलित समुदायका विद्यार्थीलाई लक्षित गरी ल्याएको यो कार्यक्रमलाई शिक्षा क्षेत्रका जानकारहरूले सकारात्मक पहलका रूपमा लिएका छन् । आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न कठिनाइ भोगिरहेका विद्यार्थीका लागि यस्तो कार्यक्रमले महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नगरपालिकाको यो पहलले विशेषगरी छोरी–बुहारीको उच्च शिक्षामा पहुँच विस्तार गर्न र समाजमा शिक्षाप्रतिको सकारात्मक वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास समेत गरिएको छ ।



