काठमाडौं । चन्द्रागिरि नगरपालिकामा जर्मन सरकारको सहकार्यमा प्रसुति विशेष अस्पताल निर्माण हुने भएको छ । निर्माण हुने प्रसुति विशेष अस्पतालका लागि जर्मन बिकास बैंकबाट १ अर्ब बराबरको बजेट समेत निकासाको कार्य सम्पन्न भएको छ । जर्मन सरकारद्वारा प्राविधिक तथा कन्सल्टेन्ट छनौट कार्य समेत पुरा भइसकेको छ ।




जर्मन बिकास बैंकका प्रतिनिधिहरु थानकोटस्थित प्राथमिक अस्पताल पुगेका थिए । जर्मन सरकारको सहयोगमा उक्त प्राथमिक अस्पतालसंगै निर्माण हुन गइरहेको १ अर्ब बजेट बराबरको प्रसुति विशेषज्ञ अस्पतालको निर्माण प्रकृयाको प्रगति विवरण नगरपालिकाले गर्नु पर्ने कार्यहरुका बारेमा विश्लेषण तथा छलफल भएको थियो ।

नगर प्रमुख गिरीले नगरपालिकाले अस्पताल निर्माण गर्न नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयमार्फत सो क्षेत्रमा रहेको २३ रोपनी जग्गा प्राप्तिको सम्पूर्ण प्रकृया टुंगिसकेको विश्व बैंकका प्रतिनिधिलाई जानकारी गराउनु भएको थियो । साथै सोही स्थानमा १९ करोडको लागतमा २५ शैयाको डायलासिस सेवासहितको अस्पतालको निर्माण कार्य शुरु भइसकेको छ ।

जर्मन विकास बैंक (kfw) का प्रतिनिधिहरुले बजेट निकासा भएको र प्रसुति बिशेषज्ञ अस्पताल निर्माण गर्न जर्मन सरकारले कन्सल्टेन्ट तथा प्राविधिक पनि छनौट गरिसकेको कुरा जानकारी गराएका थिए । यो साता नेपाल सरकारको स्वास्थ्य र अर्थ मन्त्रालयसंग जर्मन बिकास बैंकले सम्झौता गर्ने कार्यको प्रकृया अघि बढ्ने जर्मन प्रतिनिधिहरुले जानकारी गराएका थिए ।

बैठकमा नगर प्रबक्ता कृष्ण प्रसाद खड्गी, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, स्वास्थ्य शाखा प्रमुख, अस्पताल प्रमुखको उपस्थिति रहेको थियो ।



