काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १ बाल श्रममुक्त वडा घोषणा भएकै दिन सोही वडाको एक विद्यालयका छात्रामाथी कुटपिट भएको छ । वडा नम्बर १ मा रहेको दहचोक कालापानीस्थित सामुदायिक विद्यालय श्रीकृष्ण माविमा अध्ययनरत एक छात्रालाई शिक्षकले कुटपिट गरेका हुन् । कुटपिटबाट कक्षा १० मा अध्ययरत संगीता (नाम परिवर्तन) को शरीरका विभिन्न भाग निलाम्य डाम देखिएको छ ।
पीडित छात्रालाई our news crew टिमले सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । सोही विद्यालयमा पढ्ने संगीताका भाईले शिक्षक गणेश श्रेष्ठले दिदीमाथी कुटपिट गरेको जानकारी दिए । उनले शिक्षक श्रेष्ठले आफुमाथी पनि पहिले कुटपिट गरेको र अन्य विद्यार्थीलाई पनि कुट्ने गरेको बताए ।



शिक्षक गणेश श्रेष्ठले भने आफुले सामान्य रुपमा हिर्काएको तर घाइते नै हुने गरी भने नकुटको बताए । श्रेष्ठले यदि आफु दोषि ठहरिए शिक्षक पेशा नै छोड्ने भन्दै धम्क्याउँदै हिडेका छन् ।
यता विद्यालयका प्रधानाध्यापक खड्ग बहादुर श्रेष्ठ घटनालाई सामान्य रुपमा लिएर ढाकछोप गर्नतर्फ तल्लिन देखिन्छन् । घटना हिजो दिउँसो भएपनि आफुले भने आजमात्र जानकारी पाएको र यस्ता घटना विद्यालयमा भैरहने भन्दै शिक्षक गणेश श्रेष्ठको बचाउमा लागेका छन् । उनले विद्यार्थीलाई अनुशासन सिकाउने विषयमा यस्ता घटनालाई सामान्य रुपमा लिई ठूलो बनाउन नहुने तर्क दिए । यद्यपी उनले भोलि मंगलबार पीडित पक्ष र पीडक पक्ष दुबै राखि सत्यतथ्य बाहिर ल्याउने बताए ।
चन्द्रागिरि नगरपालिकाको शिक्षा, यूवा तथा खेलकुद शाखाका वरिष्ठ विद्यालय निरीक्षक बुद्धिप्रसाद भट्टले कुटपिटको विषय आफुलाई औपचरिक रुपमा जानकारी नभएको तर कुटपिट गरेको भन्न सुन्नमा आएको बताउनु भयो । उहाँले आफुलाई सम्बन्धित वडाका वडा अध्यक्षले जानकारी गराएपनि बास्तविकता बुझ्न बाँकी रहेको जानकारी दिनुभयो ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हरिश्याम रानामगरले विद्यार्थीमाथी भएको कुटपिटलाई आफुले गम्भीर रुपमा लिएको बताउनु भयो । उहाँले बाल मनोपरामर्शकर्ता ल्याएर घटनाको विषयमा छानविन गरिरहेको जानकारी दिनुभयो ।
श्रीकृष्ण माध्यमिक विद्यालयमा यो घटना भने पहिलो हैन । यसअघि पनि शिक्षकबाट विद्यार्थीहरु बारम्बार कुटिदै आएको घटना बाहिर आएको थियो ।



