काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १० बोसिगाउँस्थित माःपूँचामा निर्माण गरिएको सामुदायिक संरचनाको प्रसंशा हुन थालेको छ । स्थानीय नागरिक भुयुचा महर्जनले २१ लाख ५० हजार निजी लगानीमा निर्माण गरेको कलात्मक चौतारा, फल्चा, हिटी तथा विश्रामस्थल अहिले केवल एउटा भौतिक संरचना मात्र नभई, समुदायलाई जोड्ने एउटा प्रमुख माध्यम बनेको छ ।
वडा नं. १० का अध्यक्ष शिवकुमार महर्जनले समुदायलाई हस्तान्तरण गरिएको उक्त संरचनाले आधुनिकताको भीडमा हराउँदै गएको स्थानीय संस्कृति, मौलिकता र सामुदायिक भावना पुनर्जीवित गर्ने प्रयास भएको उल्लेख गर्नुभयो । उहाँले देशैभर खुला चौतारा हराउँदै गएको, मानिसबीचको भेटघाट र छलफल कमजोर हुँदै गएको अवस्थामा यस प्रकारको फल्चा र हिटीहरूले समाजबीचको सम्बन्ध जोड्न पुलको काम बन्ने गरेको बताउनु भयो ।






