काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ स्थानीय बालमैत्री वडा घोषणा गर्ने तयारी गरिएको छ । आगामी भदौ २८ गते चन्द्रागिरि नगरपालिकाले १४ नम्बर वडालाई बालमैत्री वडा घोषणा गर्ने तयारी स्वरुप वडा भित्र संचालनमा रहेका सरकारी तथा नीजि विद्यालयको अनुगमन गरिएको हो ।

नगरपालिकाले बालमैत्री वडा घोषणा गर्नको लागि नगरले बनाएको चेकलिस्टअन्तरगत शिक्षा क्षेत्रमा ५१ सूचक र स्वास्थ्यमा १४ वटा सूचक पार गर्नुपर्ने हुन्छ । सोही अनुरुप नगरपालिकाले नैकापको ब्राइट फ्यूचर सेकेण्डरी स्कुल र कंकाली माविमा अनुगमन गरेको थियो ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष राजभाई महर्जनले वडालाई बालमैत्री वडा घोषणा गर्ने तयारी स्वरुप वडा भित्र संचालनमा रहेका संस्थागत र सामुदायिक विद्यालयको भौतिक संरचनासहित विद्यालयमा हुनुपर्ने मापदण्डको अनुगमन गरिएको बताउनु भयो । उहाँले स्थानीय बालमैत्री वडा घोषणा गरिएसँगै चन्द्रागिरि नगरपालिकाको नै पहिलो र काठमाडौंको दोस्रो स्थानीय बालमैत्री वडा १४ नम्बर हुने दाबी गर्नुभयो । उहाँले यसअघि कीर्तिपुर नगरपालिकाको ७ नम्बर वडा बालमैत्री वडा घोषणा भईसकेको उल्लेख गर्नुभयो ।

अनुगमनमा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर १५ का वडा अध्यक्ष घनश्याम लुइँटेल, कार्यपालिका सदस्य, जनप्रतिनिधि, शाखा अधिकृत दामोदर रिजाल, शिक्षा शाखा प्रमुख सुजनराज खनाल, खानेपानी, सरसफाई तथा विपद् व्यवस्थापन शाखाका वरिष्ठ शाखा अधिकृत भद्रा अर्याल, स्वास्थ्य शाखा प्रमुख शम्भुकुमार महतो, महिला, बालबालिका तथा समाज कल्याण शाखाका वरिष्ठ सहायक विष्णु कुमारी बास्कोटा, वडा सचिव विक्रम महर्जन, वडाका स्वास्थ्य प्रमुख गोमा घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय