काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर–२ मा सार्वजनिक स्थल तथा बस्ती आसपास क्षेत्रमा उम्रिएका गाजाका बिरुवा नष्ट गरिएको छ । वडा कार्यालय र प्रहरी प्रभाग नागढुंगाको संयुक्त पहलमा गाजा फडानी गरी नष्ट गरिएको हो ।




चन्द्रागिरि नगरपालिका वडा नम्बर २ की कार्यवाहक वडा अध्यक्ष अनिता गिरी बस्नेतले पछिल्लो समय लागुऔषध दुव्र्यसन सामाजिक चुनौती बन्दै गएकोले रोकथामका लागि यस्ता सानातिना प्रयास महत्वपूर्ण सावित हुने बताउनु भयो । उहाँले समुदायको सक्रिय सहभागिता बिना लागुऔषध नियन्त्रणको अभियान प्रभावकारी नहुने, युवालाई कुलतबाट जोगाउन परिवार, विद्यालय, स्थानीय तह, प्रहरी र समुदायबीच निरन्तर सहकार्य आवश्यक रहेको भन्दै गाजाका बिरुवा फडानी गर्नु केवल सरसफाइको काम नभई सामाजिक उत्तरदायित्वसँग जोडिएको अभियान भएको उल्लेख गर्नुभयो ।

प्रहरी प्रभाग नागढुंगाका प्रहरी निरीक्षक अजय जंग थापाले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लागुऔषध नियन्त्रणलाई प्रभावकारी बनाउन यस्ता अभियान संचालन गरिदै आएको जानकारी दिनुभयो । उहाँले नेपालमा कानुनले गाजालाई लागुऔषधको दायरामा राखेकाले सार्वजनिक स्थानमा उम्रिएका यस्ता बिरुवा समयमै हटाउनु आवश्यक भएको भन्दै नागढुंगा चेकपोइन्टदेखि बाणभञ्ज्याङसम्म सडक छेउ, सार्वजनिक जग्गा तथा केही घर वरिपरि आफै उम्रिएका गाजाका बिरुवा हटाइएको बताउनु भयो ।

प्रहरी निरीक्षक थापाले लागुऔषध नियन्त्रण केवल अवैध कारोबार रोक्ने विषय मात्र नभई समाजमा यसको प्रयोगप्रति सचेतना फैलाउने अभियान पनि भएको दाबी गर्नुभयो । उहाँले किशोर तथा युवावर्गलाई लागुऔषधको जोखिमबाट जोगाउन विशेषगरी समुदाय, स्थानीय सरकार र सुरक्षा निकायबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

लागुऔषध नियन्त्रण केवल प्रहरीको जिम्मेवारी मात्र नभई समग्र समाजको साझा दायित्व हो । समुदायमा सचेतना, कानुनको प्रभावकारी कार्यान्वयन र स्थानीय तहको सक्रियताले मात्र युवापुस्तालाई दुव्र्यसनबाट जोगाउने वातावरण निर्माण गर्न सकिन्छ । चन्द्रागिरि–२ मा सञ्चालन गरिएको गाजा फडानी अभियानलाई यसै सामाजिक उत्तरदायित्व र सामुदायिक सहकार्यको एउटा उदाहरणका रूपमा हेर्न सकिन्छ ।
कार्यक्रममा वडाका जनप्रतिनिधि, नेपाल प्रहरी र स्थानीयवासीको सहभागिता रहेको थियो ।



