काठमाडौं । चन्द्रागिरि नगरपालिका भित्र भएका अव्यवस्थित तार हटाउन थालिएको छ । चन्द्रागिरि नगरको बाहिरि र भित्री सडक छेउछाउका पोलमा अव्यवस्थित रुपमा टाँगिएका तारले नगरको सौन्दर्यता नै कुरुप हुन थालेपछि पोलका तार हटाउन थालिएको हो ।



नेपाल विद्युत प्राधिकरणले राखेको पोलमा विभिन्न इन्टरनेट कम्पनीहरुले अव्यवस्थित रुपमा टाँगेका तारले नगरलाई नै गिज्याउन थालेपछि धमाधम तार व्यवस्थित गर्न थालिएको छ ।
नेपाल टेलिकम बलम्बुले जमीन तलबाट पूर्णरुपमा अप्टिकल फाइबर प्रणाली सञ्चालनमा ल्याएसँगै काम नलाग्ने तारहरु निकाल्न थालेको छ । टेलिकमले नगरपालिका भित्रका विभिन्न वडामा टाँगिएका पुराना तारहरु अलपत्र अवस्थामा रहँदा सहरी सौन्दर्यतामा कमी आउने तथा सडक दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै धमाधम पोलबाट आफ्नो तार हटाउन थालेको हो ।

नेपाल टेलिकमले चन्द्रागिरि भित्र विगत केही वर्षअघिबाटै फाइबर प्रणाली सुरु गरिसकेको छ । फाइबर सुरु भएपनि पुराना तारहरु यथावतै रहेकोले अहिले हटाउन थालेको हो । चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ का जनप्रतिनिधिहरुको विशेष पहलमा अहिले वडा भित्र रहेका अव्यवस्थित तारहरु हटाउन थालिएको छ ।
टेलिकमले नगरको सौन्दर्यता र सडक दुर्घटनालाई मध्येनजर गर्दै आफ्ना एक्सचेन्ज मातहतका सबै तारहरु हटाउँदै जाने भनेपनि अन्य इन्टरनेट सेवा प्रदायकहरुको यसतर्फ कुनै ध्यान गएको पाईदैन । सडक छउछाउका पोलमा इन्टरनेटका तारहरुको गुजुल्टो र चुडिएर झुण्डिएका तारहरुकै कारण आन्तरिक तथा बाह्य पर्यटकले चन्द्रागिरि नगरलाई हेर्ने दृष्टिकोण नै फरक बन्न थालेको छ । त्यसैले वडा, नगरपालिका यस विषयमा गम्भीर भएर यस्ता इन्टरनेट प्रदायक कम्पनीलाई तुरुन्त तार हटाउन आदेश दिने र नमानेमा कारवाहीको दायरामा उभ्याउन सक्नुपर्छ ।



