काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ५ स्थित ऐतिहासिक किपुल्चा बस्तीमा बुद्ध स्तुपा पुनर्निर्माणका क्रममा दुर्लभ ऐतिहासिक ईँटा फेला परेका छन् । लामो समयदेखि जीर्ण अवस्थामा रहेको स्तुपा पुनः संरचना गर्ने क्रममा भेटिएका यी ईँटाले उक्त क्षेत्रको गहिरो ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वलाई उजागर गरेका छन् ।
बागमती प्रदेश सरकारको ९ लाख रुपैयाँ बजेटबाट निर्माण हुन लागेको स्तुपा भत्काउने क्रममा श्री ३ चन्द्र शम्शेर, श्री ३ मोहन शम्शेर, श्री ५ त्रिभुवनवीर विक्रम शाहदेव र श्री ५ महेन्द्रवीर विक्रम शाहदेव लगायतका नाम तथा लिपि अंकित पुराना ईँटा भेटिएको हो । यी ईँटाहरू राणा तथा शाहकालीन शासनकालसँग सम्बन्धित रहेको देखिएकाले किपुल्चा बस्ती तत्कालीन राजनीतिक, धार्मिक र सामाजिक गतिविधिसँग गहिरो रूपमा जोडिएको क्षेत्र भएको संकेत गरेको छ ।



ऐतिहासिक लिपि र चिन्ह अंकित ईँटा भेटिएपछि स्थानीयवासी, बुद्धिजीवी तथा जनप्रतिनिधिहरूको ध्यान यस स्थानको सम्पदागत महत्वतर्फ केन्द्रित भएको छ । विज्ञहरूले यस्ता ईँटाहरू तत्कालीन शासकहरूको पालामा निर्माण गरिएका धार्मिक संरचनाको प्रमाण हुन सक्ने भएकाले यसको संरक्षण अत्यन्तै आवश्यक रहेको बताएका छन् ।
वडा नं. ५ का अध्यक्ष राजेन्द्र महर्जनले सार्वजनिक जग्गाको संरक्षण तथा ऐतिहासिक सम्पदाको जगेर्ना गर्ने उद्देश्यले सो स्थानमा स्तुपा पुनः संरचना गर्न लागिएको बखतमा यस्ता ऐतिहासिक ईँटाहरू भेटिएको जानकारी दिनुभयो । उहाँले भेटिएका यो इँटालाई वडाले व्यवस्थित रूपमा संकलन गरी संरक्षण गर्ने र भविष्यमा यस स्थानको ऐतिहासिक महत्व अझै सुरक्षित राख्ने उल्लेख गर्नुभयो ।
यसैगरी वडा सदस्य महेन्द्र महर्जनले प्रदेश सरकारको बजेटबाट स्तुपा वरपर ढुंगा, इँटा विच्छ्याउने, रंगरोगन गर्ने, सरसफाइ तथा वातावरणीय शौन्दर्य अभिवृद्धि गर्ने कार्य गरिने जानकारी दिनुभयो । उहाँले पुनर्निर्माण कार्यले धार्मिक आस्था मजबुत बनाउनुका साथै स्थानीय पर्यटन प्रवद्र्धनमा पनि महत्वपूर्ण योगदान पुग्ने दाबी गर्नुभयो ।
चन्द्रागिरि नगरपालिकाले हालसम्म तीनवटा क्षेत्रलाई सम्पदा क्षेत्रको रूपमा घोषणा गरिसकेको छ, जसमध्ये वडा नं. ५ को किपुल्चा बस्तीलाई पनि सम्पदा बस्तीका रूपमा वर्गीकरण गरिएको छ । यस वर्गीकरणले यहाँको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक महत्वलाई औपचारिक मान्यता दिएको छ ।
यसै स्थानमा नगरमै पहिलो पटक सामूहिक रूपमा ढल निकासको काम पनि भइरहेको छ, जसले आधुनिक पूर्वाधार विकास र पुरातन बस्ती संरक्षणलाई सन्तुलनमा अघि बढाउने वडाको प्रयासलाई देखाउँछ ।
बुद्ध स्तुपा पुनर्निर्माणका क्रममा फेला परेका श्री ३ र श्री ५ अंकित ऐतिहासिक ईँटाहरूले किपुल्चा बस्तीको गौरवशाली विगत झल्काउने मात्र होइन, भावी पुस्ताका लागि अमूल्य सांस्कृतिक धरोहरका रूपमा संरक्षण गर्नुपर्ने आवश्यकता र जिम्मेवारीलाई समेत स्मरण गराएका छन् ।



