काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर–६ ले किसानको उत्पादनमुखी गतिविधिलाई सहयोग गर्ने तथा अपाङ्गता भएका नागरिकको दैनिक जीवनलाई सहज बनाउने उद्देश्यले गाई म्याट र विभिन्न सहायता सामग्री वितरण गरेको छ ।




वडाले आर्थिक वर्ष २०८२-८३ को स्वीकृत बजेट अन्तर्गत व्यावसायिक तथा जीविकोपार्जनका लागि गाईपालन गर्दै आएका किसानलाई गाई म्याट वितरण गरेको हो । यस कार्यक्रमअन्तर्गत १५ जना किसान लाभान्वित भएका छन् ।
वर्षायाममा गोठको भुइँ चिसो र हिलो हुने भएकाले गाईको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने अवस्था रहन्छ । यस्ता समस्यालाई न्यूनीकरण गर्न गाई म्याट उपयोगी हुने विश्वास गरिएको छ । म्याटले पशु बस्ने स्थानलाई सफा, सुरक्षित र व्यवस्थित बनाउन सहयोग पुग्ने किसानहरूको अपेक्षा छ । वर्षाको समयमा आवश्यक सामग्री प्राप्त गरेपछि किसानहरूले खुसी व्यक्त गरेका थिए ।
कृषि तथा पशुपालन क्षेत्रलाई स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा लिँदै वडाले किसानलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम संचालन गर्दै आएको जनाएको छ । स्थानीय तहबाट प्राप्त सहयोगले पशुपालन व्यवसायलाई थप व्यवस्थित बनाउन मद्दत पुग्ने किसानहरूको भनाइ छ ।
यसैबीच, वडा कार्यालयले अपाङ्गता भएका नागरिकका लागि आवश्यक सहायता सामग्री पनि वितरण गरेको छ । आर्थिक अवस्था कमजोर भएका तथा शारीरिक रूपमा हिँडडुल गर्न कठिनाइ भएका ३ जनालाई ह्विलचेयर प्रदान गरिएको छ ।

त्यसैगरी दृष्टिविहीन ५ जनालाई सेतो लौरो तथा श्रवणशक्ति कमजोर भएका ५ जनालाई चार्ज गर्न मिल्ने हियरिङ मेसिन वितरण गरिएको वडाले जनाएको छ ।
सहायता सामग्री प्राप्त गरेपछि लाभग्राहीहरूले दैनिक जीवनयापनमा सहजता आउने विश्वास व्यक्त गरेका छन् ।
वडा अध्यक्ष संजय सिग्देलले स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले जनताका आवश्यकता र समस्यालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।
उहाँले नागरिकको जीवनस्तर उकास्ने, किसानलाई उत्पादनमा प्रोत्साहन गर्ने तथा अशक्त र अपाङ्गता भएका व्यक्तिको जीवन सहज बनाउने कार्यक्रमलाई वडाले निरन्तरता दिँदै आएको उल्लेख गर्नुभयो । जनप्रतिनिधिको मुख्य जिम्मेवारी नागरिकको सुख–दुःखमा साथ दिनु रहेको बताउँदै उहाँले आगामी दिनमा पनि यस्ता जनमुखी कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाइने जानकारी दिनुभयो ।
स्थानीय सरकारको बजेटलाई प्रत्यक्ष रूपमा नागरिकको हितसँग जोड्ने उद्देश्यका साथ सञ्चालन गरिएका यी कार्यक्रमले किसान र विशेष आवश्यकता भएका नागरिक दुवै वर्गलाई राहत तथा उत्साह प्रदान गरेको छ ।



