काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ७ ले अशक्त तथा हिँडडुल गर्न नसक्ने बिरामीहरूलाई लक्षित गर्दै ह्वीलचियर वितरण गरेको छ । शारीरिक रुपमा असहज अवस्थाका कारण दैनिक जीवनयापनमा कठिनाइ भोगिरहेका वडावासीलाई सहजता प्रदान गर्ने उद्देश्यले वडाले घरदैलोमै पुगेर सहयोग उपलब्ध गराएको हो ।



वडा सदस्यहरू भुवन कुमार केसी, उमा कुमारी थापा, रामशरण महत र पूर्णकुमारी बयलकोटीले अशक्त विरामीलाई घरमै पुगेर ह्वीलचियर वितरण गरेका हुन् । जनप्रतिनिधिहरूले सम्बन्धित बिरामीहरूको स्वास्थ्य अवस्था र पारिवारिक परिस्थितिबारे जानकारी लिँदै आवश्यक सहयोग निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
ह्वीलचियर पाएपछि लाभग्राही बिरामीहरूले खुसी व्यक्त गरेका छन् । उनीहरुले अब दैनिक सरसफाइ, घामताप लिने, अस्पताल जान तथा घरआँगनमा हिँडडुल गर्न सहज हुने बताएका छन् । परिवारजनले समेत वडाको मानवीय पहलप्रति धन्यवाद ज्ञापन गरेका छन् ।
ह्वीलचियर वितरणका क्रममा वडा सदस्य भुवन कुमार केसी र उमा कुमारी थापाले आफूहरू सधैं सामाजिक सेवामा सक्रिय रहेको उल्लेख गर्दै यस्ता परिणाममुखी कार्यक्रमलाई निरन्तरता दिने बताए । वडासदस्य केसीले भने– “वडावासीको दुःख–पीडामा साथ दिनु हाम्रो दायित्व हो । आवश्यकता पहिचान गरी अझ सहयोग पुर्याउँदै जाने उनको भनाइ छ ।
यसैगरी वडा सदस्य उमाकुमारी थापाले आगामी दिनमा पनि अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, दीर्घरोगी तथा विपन्न वर्गलाई लक्षित गरी सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । स्थानीय तहले प्रत्यक्ष सेवा प्रवाहमार्फत समुदायसँगको सम्बन्ध सुदृढ बनाउँदै लैजानुपर्नेमा जनप्रतिनिधिहरूले जोड दिएका छन् । यसअघि पनि वडा सदस्य भुवनकुमार केसी, उमाकुमारी थापा, रामशरण महत र पूर्णकुमारी बयलकोटीले वडाका विरामीहरुलाई घरमै पुगेर पौष्टिक आहार वितरण गरेका थिए ।




