काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ७ स्थित वनदेवी ज्येष्ठ नागरिक मिलन केन्द्र दिवा सेवाले आफ्नो स्थापनाको एक वर्ष पूरा गरेको छ । २०८१ साल जेठ २३ गते स्थापना भएको केन्द्रले आज विशेष कार्यक्रमको आयोजना गरी प्रथम स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले ज्येष्ठ नागरिक देश र समाजकै गहना भएको बताउँदै ज्येष्ठ नागरिकलाई सधै माया र सम्मान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले वनदेवी ज्येष्ठ नागरिक मिलन केन्द्र दिवा सेवाले पनि ज्येष्ठ नागरिकहरुका लागि उल्लेख्य काम गरेको बताउनु भयो । एक वर्षमा उक्त केन्द्रले नियमित रुपमा ज्येष्ठ नागरिकका लागि विभिन्न कार्यहरु गरेको बताउँदै प्रमुख गिरीले आफूले पनि केन्द्रलाई सक्दो सहयोग गर्ने बताउनुभयो ।

उहाँले आर्थिक वर्ष २०८२-०८३ मा केन्द्रलाई आवश्यक सामग्री व्यवस्थापनका लागि आवश्यक रकम विनियोजन गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

कार्यक्रममा केन्द्रका अध्यक्ष केशव केसीले एक वर्षमा केन्द्रले गरेका गतिविधिबारे जानकारी गराउनुभएको थियो । उहाँले केन्द्रमा नगर, वडा तथा विभिन्न समाजसेवीहरुबाट दैनिक, मासिकरुपमा केही न केही सहयोग भइरहेकोले संस्था सञ्चालनमा केही सहज भएको बताउनु भयो ।

वडा नं. ७ का कार्यबाहक अध्यक्ष भुवन केसीले संस्था तथा संस्थामा आवद्ध ज्येष्ठ नागरिकहरुलाई स्नेह र सम्मान गर्न आग्रह गर्नुभयो । उहाँले वडाका तर्फबाट ज्येष्ठ नागरिकहरुलाई समय समयमा निःशुल्क स्वास्थ्य परीक्षण गरिरहेको बताउनु भयो । केसीले केही दिन अघिमात्र वडाको सहकार्यमा ए आइ डिजिटल एक्स रे माध्यमबाट क्षयरोगको सक्रिय खोजपड्ताल स्वास्थ्य शिविर सञ्चालन गरेको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा पनि ज्येष्ठ नागरिकका लागि यस्ता स्वास्थ्य शिविरहरु सञ्चालन गरिरहने बताउनुभयो ।

चन्द्रागिरि नगरपालिका कार्यपालिका सदस्य एवम् वडा नं ७ का सदस्य उमा थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पञ्चे बाजा समूहले आफ्नो प्रस्तुती दिएको थियो । कार्यक्रममा संस्थाका कार्यसमिति, संस्थापक सदस्यलगायत विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा चन्द्रागिरि–७ (हाल अमेरिका) निवासी रुपेश लामिछानेले जेष्ठ नागरिकहरुलाई खाजाको व्यवस्था गर्नुभएको थियो भने वडा नं. ७ निवासी पूजा पौडेलले केकको व्यवस्था गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय