काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ मा रहेको प्रभात माध्यमिक विद्यालयमा प्रेसर कुकर विष्फोट हुँदा तीन जना घाइते भएका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि दिवा खाजा तयारी गर्ने क्रममा प्रेसर कुकर अचानक विष्फोट भएको थियो । विष्फोटमा परी आशा श्रेष्ठ, सुनिता श्रेष्ठ र सावित्री ढकाल घाइते भएका छन् ।
घाइतेमध्ये सुनिता श्रेष्ठ र सावित्री ढकालको अवस्था सामान्य रहेको छ । अर्का घाइते भएकी आशा श्रेष्ठको भने सतुंगलस्थित सशस्त्र प्रहरी अस्पताल (एपीएफ) मा उपचार भइरहेको छ । प्रारम्भिक जानकारीअनुसार प्रेसर कुकरमा बढी बाफ (प्रेसर) जमेको कारण विष्फोट भएको हुन सक्ने अनुमान गरिएको छ । घटनाको जानकारी पाएलगत्तै स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मी घटनास्थल पुगेका थिए । विद्यालय प्रशासनले आगामी दिनमा यस्ता घटना नदोहोरिन भान्साको सुरक्षामा थप सतर्कता अपनाइने जनाएको छ ।



यस घटनाले विद्यालयहरूमा खाजा व्यवस्थापनका क्रममा प्रयोग हुने भान्साका उपकरण र सुरक्षाबारे गम्भीर ध्यान दिनुपर्ने आवश्यकता देखाएको छ ।




