काठमाडौं । नेपालको शान, नेपालको गौरव, चन्द्रागिरिको आन बक्सिङ खेलाडी अविरल घिमिरे नेपाल आउँदै छन् । हिमालयन चितुवाको उपनामले चर्चित अविरल घिमिरे बिहीबार दिउँसो १२ः३० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछन् ।
घिमिरेको स्वागतको लागि चन्द्रागिरि नगरपालिकाले व्यापक तयारी गरेको छ । घिमिरे किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल युवा खेलाडी हुन् ।केही दिनअघि जापानको नागोया सहरमा भएको इन्टरनेशनल किक बक्सिङ (इस्का) प्रतियोगितामा घिमिरेले फ्रान्सका बक्सर एन्टोनिन मार्काेनीलाई पराजीत गर्दै वर्ल्ड च्याम्पियन बन्न सफल भएका हुन् । उनी इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता पनि हुन् ।



हालसम्म प्रोफेसनल किक बक्सिङ हिट प्रतियोगिताको १४ खेलको अपराजित यात्राको जित हासिल गर्ने क्रममा हिमचितुवाले चार पटक हिट प्रतियोगिताको टाइटल म्याचको उपाधि (बेल्ट) समेत रक्षा गर्दै ‘मिडल वेटको रेकर्ड’ समेत कायम राख्दै आएका छन् । हिमालयन चितुवाका पिता देव घिमिरे ‘के वान प्राफेसलन किक बक्सिङ प्रतियोगिता’ मा सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी हुन् । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा बलम्बूका स्थानीय बासिन्दा हुन् । घिमिरेको परिवार हाल जापानको नागोया सहरमा बसोबास गर्दै आइरहेको छ ।
चन्द्रागिरि नगरपालिका र स्थानीयबासीहरूको जनसहभागितामा कलंकीको खड्कुलेको पुलबाट स्वागत गरेर चन्द्रागिरि नगरका विभिन्न स्थानमा परिक्रमा गराउने कार्यक्रम रहेको बताइएको छ ।



