काठमाडौं । चन्द्रागिरि नगरपालिकाको नैकापचोकस्थित निर्माणाधीन आकाशे पुल (फ्लाइओभर) नजिकको सहायक सडक अविरल वर्षापछि भासिएको छ । सडकको एक भाग धसिँदा स्थानीयवासी तथा सवारीसाधनको आवतजावत प्रभावित भएको छ भने निर्माणस्थलको सुरक्षा र प्राविधिक व्यवस्थापनबारे पनि प्रश्न उठेको छ ।
घटनास्थलको अवस्था हेर्दा सडकको छेउतर्फको भाग उल्लेख्य रूपमा धसिएको देखिन्छ । सडकसँगै रहेको माटो बग्नुका साथै केही संरचनात्मक भाग पनि प्रभावित भएको छ । घटनापछि सम्बन्धित निकायबाट क्षतिको विस्तृत विवरण तथा प्राविधिक प्रतिवेदन सार्वजनिक भइसकेको छैन ।



प्रारम्भिक रूपमा प्राप्त जानकारीअनुसार आकाशे पुल निर्माणका क्रममा सडकमुनिको भागमा गरिएको उत्खननका कारण उक्त क्षेत्रको भू–संरचना कमजोर बनेको थियो । त्यसपछि लगातार परेको वर्षाले माटोको धारण क्षमता घटाउँदै सडकको एक भाग भासिएको स्थानीयको भनाइ छ ।
चन्द्रागिरि नगरपालिकाले लामो समयदेखि नैकाप क्षेत्रमा देखिँदै आएको सवारी चाप र ट्राफिक जाम न्यूनीकरण गर्ने उद्देश्यले उक्त ठाउँमा आकाशे पुल निर्माण गरिरहेको छ । निर्माण कार्य जारी रहेका बेला सहायक सडक नै क्षतिग्रस्त भएपछि दैनिक आवतजावत गर्ने सर्वसाधारणले थप सास्ती बेहोर्नुपरेको छ ।
हाल उक्त क्षेत्रमा पैदलयात्रीलाई सावधानीपूर्वक आवतजावत गर्न आग्रह गरिएको छ ।



