काठमाडौं । चन्द्रागिरि नगरपालिकाको न्यायिक समितिले नगरभित्र रहेका सामुदायिक तथा निजी विद्यालयहरूमा स्थानीय न्यायिक समिति सम्बन्धी कानुनी व्यवस्था र यसको भूमिकाबारे जानकारी गराउने उद्देश्यले एक दिने सचेतनामूलक कक्षा सञ्चालन गरेको छ ।

विद्यालय तहदेखि नै स्थानीय न्यायिक प्रणाली, कानुनी अधिकार तथा विवाद समाधान प्रक्रियाबारे विद्यार्थी र शिक्षकहरूलाई जानकारी गराउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको न्यायिक समितिले जनाएको छ । नगरभित्र रहेका विद्यालयहरुमा मेलमिलापकर्ताहरुले न्यायिक समितिको परिचय, लैंगिक हिंसा, लागूपदार्थविरुद्ध सचेतना लगायतका विषयमा विद्यार्थीहरुलाई सचेतना गराउँदै आएका छन् ।
यसैक्रममा न्यायिक समितिका संयोजक एवम् चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठले न्यायिक समितिले सञ्चालन गरेका कक्षाहरुको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । निरीक्षणको क्रममा उपप्रमख श्रेष्ठले विद्यार्थी तथा विद्यालयलाई न्यायिक समितिको काम, कर्तव्य र अधिकारबारे जानकारी गराउनु भएको थियो । उहाँले विद्यार्थीहरूलाई कानुनी ज्ञान र नागरिक जिम्मेवारीबारे प्रारम्भिक जानकारी दिन सके भविष्यमा न्यायिक चेतना विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थानीय सरकार सञ्चालन ऐनअनुसार न्यायिक समितिको कार्यक्षेत्र, उजुरी दर्ता प्रक्रिया, मेलमिलापको व्यवस्था तथा समुदायस्तरमा हुने सामान्य विवादहरूको समाधानका विषयमा पनि जानकारी गराउनुभएको थियो । उपप्रमुख श्रेष्ठले स्थानीय तहको न्यायिक समितिले नागरिकलाई सहज, छिटो र कम खर्चिलो न्याय प्रदान गर्ने उद्देश्यले काम गरिरहेको उल्लेख गर्दै विद्यालयमार्फत समुदायसम्म कानुनी सन्देश पुर्याउन सकिने बताउनुभयो ।

कार्यक्रममा सहभागी शिक्षक तथा विद्यार्थीहरूले स्थानीय न्यायिक समितिको भूमिका, अधिकार क्षेत्र तथा सेवाबारे महत्वपूर्ण जानकारी प्राप्त भएको प्रतिक्रिया दिएका थिए। नगरपालिकाले आगामी दिनमा पनि विभिन्न विद्यालयहरूमा यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । न्यायिक समितिका सदस्य रत्नलाल श्रेष्ठ र सीता मण्डलले न्यायिक समितिले नगरका सम्पूर्ण विद्यालयमा कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । उहाँहरुले यस्तो कार्यक्रम अघिल्लो वर्ष पनि सञ्चालन गरेको र उक्त कार्यक्रबाट सकारात्मक सन्देश पाएकोले यसवर्ष पनि निरन्तरता दिएको बताउनु भयो ।
यस्तै कक्षा सञ्चालन गरिरहेको विद्यालयले पनि कार्यक्रम सन्तोषजनक रहेको प्रतिक्रिया दिएका छन् । नगरपालिकाले आगामी दिनमा पनि विद्यालयहरूमा यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय