काठमाडौं । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगर क्षेत्रको पर्यटन विकासको लागि धर्म, संस्कृति र रिति रिवाजलाई जिवन्त राख्न आफुले अहम भूमिका खेलेको बताउनु भयो ।

नेपाल पर्यटन बोर्डको सहयोगमा महिला सेवा संस्थाले आयोजना गरेको पर्यटन नीति, सम्भावना र महिला सहभागिता संवाद कार्यक्रममा नगरप्रमुख गिरीले पर्यटन क्षेत्रको विकासको लागि शिक्षा, स्वास्थ्य, रोजगारलगायतका सबै क्षेत्र उत्तिकै सवल हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले पर्यटक भित्र्याउन विदेशी राष्ट्रले मानव निर्मित संरचना बनाउने गरेपनि नेपाललाई प्रकृतिले नै उपहार दिएको बताउनु भयो । उहाँले चन्द्रागिरि नगरपालिका स्वदेशमा मात्र नभई विदेशमा पनि उत्तिकै चर्चित भएकोले नगरपालिका घुम्न आउने पर्यटकको संख्या दिनप्रतिदिन बढ्दै गएपनि अझ सोचेअनुसार प्रचार गर्न नसकेको दाबी गर्नुभयो ।

कार्यक्रममा उपप्रमुख बसन्ती श्रेष्ठले नगरलाई आर्थिकरुपमा सवल र सक्षम बनाउन पर्यटन महत्वपूर्ण सावित हुने बताउनु भयो । पर्यटनको प्रचुर सम्भावना बोेकेको चन्द्रागिरि नगरपालिका क्षेत्र भित्र धेरै महत्वपूर्ण स्थान रहेकोले त्यस्ता ठाउँमा पर्यटक ल्याउन सके नगरबासीको आयआर्जनमा बढ्न सक्ने उल्लेख गर्नुभयो ।

महिला सेवा संस्थाका अध्यक्ष भावना भट्टले चन्द्रागिरि नगरपालिका पर्यटनको प्रचुर सम्भाव्यता बोकेको नगर भएकोले त्यस्ता ठाउँलाई स्थानीय निकाय, पर्यटन बोर्डलगायत पर्यटनसँग काम गर्ने संस्थाबाट प्रचारप्रसार गर्न सके नगरपालिका पर्यटन क्षेत्रको हव बन्न सक्ने उल्लेख गर्नुभयो । उहाँले अहिले पर्यटन क्षेत्रमा महिलाको पनि उत्तिकै सहभागिता रहेको भन्दै पुरुषले गर्न सक्ने महिलाले गर्न नसक्ने भन्ने समाजमा हुने गरेको भ्रमलाई चिर्न सफल भएको दाबी गर्नुभयो ।

कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजिवि, संस्थाका सचिव लिला शर्मा, संस्थाका प्रतिनिधिहरुलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय