काठमाडौं । चन्द्रागिरि नगरपालिका–११ स्थित वैष्णो फाइबर ग्लास इण्डष्ट्रिजले वर्षायामको मौका छोपी बल्खु खोलामा बोराका बोरा औद्योगिक फोहोर फालेको भेटिएको छ । खोलाको बहाव नै अवरुद्ध हुने गरी ठूलो परिमाणमा फोहोर फालिएको भेटिएपछि चन्द्रागिरि नगरपालिकाले आकस्मिक अनुगमन गर्दै उद्योगमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।

नगरपालिकाकी उपप्रमुख बसन्ती श्रेष्ठ र वातावरण शाखा प्रमुख भद्रा अर्यालको नेतृत्वमा पुगेको टोलीले उद्योग आसपासको क्षेत्रमा निरीक्षण गर्दा बल्खु खोलामा बोरामा प्याक गरिएका औद्योगिक फोहोर फालिएको अवस्था फेला पारेको हो ।
उपप्रमुख श्रेष्ठले वातावरण प्रदूषण र सार्वजनिक सुरक्षामाथि असर पर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । उहाँले उद्योग सञ्चालकलाई आवश्यक कागजातसहित नगरपालिकामा उपस्थित हुन निर्देशन दिँदै प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने बताउनुभयो ।

वातावरण शाखा प्रमुख अर्यालका अनुसार फोहोरमैला व्यवस्थापनसम्बन्धी कानुनी व्यवस्था उल्लंघन गर्ने व्यक्ति वा संस्थालाई कसुरको प्रकृतिअनुसार एक हजारदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने प्रावधान छ । आवश्यक अनुसन्धानपछि उद्योगमाथि सोही कानुनी व्यवस्थाअनुसार कारबाही गरिने वातावरण शाखा प्रमुख अर्यालले बताउनुभयो ।

उद्योगको लापरवाही भेटिएपछि यस्ता उद्योगको वातावरणीय मापदण्ड, फोहोर व्यवस्थापन प्रणाली तथा सञ्चालन प्रक्रियासमेत विस्तृत छानबिन गर्नुपर्ने देखिएको छ । यदि यस्ता गतिविधिलाई समयमै नियन्त्रण गर्न नसकिए वर्षेनी बाढी र डुबानको जोखिम बढ्दै जानेछ ।

चन्द्रागिरि नगरपालिकाले वातावरण संरक्षण, नदी–खोला संरक्षण र नागरिक सुरक्षाका विषयमा शून्य सहनशीलताको नीति अपनाइने जनाएको छ । नगरपालिकाले औद्योगिक प्रतिष्ठानहरूलाई कानुनअनुसार फोहोर व्यवस्थापन गर्न सचेत गराउँदै यस्ता गैरजिम्मेवार गतिविधि दोहोरिए थप कडा कानुनी कारबाही गरिने चेतावनी पनि दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय