काठमाडौं । सामाजिक एवम् धार्मिक अभियान्ता हरि महतमाथि भएको कुटपिटको सर्वत्र निन्दा भएको छ । हिजो (मंगलबार) चन्द्रागिरि नगरपालिका वडा नं. ८ ढाक्सीमा महतमाथि आक्रमण भएको थियो । आक्रमणबाट अभियान्ता महत घाइते भएका छन् ।



कसरी भयो घटना ?
धार्मिक एवम् सामाजिक अभियान्ता महतले सोमबार सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो पोष्ट गरे । भिडियो थियो चन्द्रागिरि नगरपालिका वडा नं. ८ ढाक्सिस्थित एक सार्वजनिक धारोमा राखिएको शिलालेख फुटाइएको दृष्य । शिलालेख फुटाइएको देखेपछि महतले त्यसको भिडियो खिची फेसबुकमा पोष्ट गरे । महतले पोष्ट गरेको भिडियोमा कुनै सकारात्मक त कुनै नकारात्मक प्रतिक्रिया आइरहेका थिए । महतले पनि उक्त भिडियो कुनै व्यक्ति विशेषको चरित्र नभइ समाजमा यस्ता कुराले नकारात्मक प्रभाव पार्ने बताउँदै आएका थिए ।
तर, मंगलबार महत आफ्नो आगामी कार्यक्रम चन्द्रागिरि नवाह तथा दिप प्रज्ज्वलन कार्यक्रमको प्रचार प्रसारका लागि सोही ठाउँमा पुग्दा स्थानीय केही युवाहरुले उनीमाथि आक्रमण गर्न थाले । एक्कासी आफूमाथि अन्धाधुन्ध आक्रमण भएपछि महतले आफ्नो ज्यान बचाउँदै प्रहरी वृत्त थानकोटमा उजुरी दिए । उजुरीपछि महतलाई कुटपिट गर्ने चार जनालाई प्रहरीले तत्काल पक्राउ गरी आवश्यक कारवाही अगाडी बढाएको छ ।
त्यसपछि के भयो ?
प्रहरीमा उजुरी पछि महतलाई स्वास्थ्य उपचारका लागि मेडप्वाइन्ट अस्पताल लगियो र उनको उपचार सुरु गरियो । महतलाई अस्पताल लगेको खबर पछि ournewscrew को टिमले अस्पताल पुगेर घाइते महतसँग घटनाबारे जानकारी लिँदा महतले आँखाभरी आँशु पार्दै भने ‘मलाई दिनदहाडै मार्न खोजियो’ । म अन्यायमा परें, मलाई न्यायका लागि साथ दिनुस् । समाजमा देखिएका विकृतिका विषय उजागर गर्न खोज्दा ज्यान कै जोखिम हुनेरहेछ, उनी भन्छन् ।
यसबारे प्रहरीसँग बुझ्दा घटना संलग्न व्यक्तिहरु पक्राउ परिसकेको र आवश्यक अनुसन्धान सुरु गरिसकेकाले कानुनी कठाघरको दायरामा ल्याउने जनाएको छ ।
यता, अभियान्ता महतमाथि भएको आक्रमणप्रति परिवार, स्थानीयवासी र सर्वसाधारणले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले दोषीमाथि कडा कारवाही गर्न प्रहरी प्रशासनसमक्ष माग गरेका छन् । उनीहरुले यस्ता घटनाले समाजमा अराजकता र गुण्डागर्दी बढेको गुनासोसमेत गर्न थालेका छन् ।



