काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. १५ स्थित शैक्षिक विकास कोषले चन्द्रागिरि नगरस्तरीय वक्तृत्वकला र खुला चित्रकला प्रतियोगिता गर्ने भएको छ । वक्तृत्वकला प्रतियोगितामा नगर क्षेत्र भित्र रहेका विद्यालयका कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरुले सहभागिता जनाउन सक्ने कोषले जनाएको छ । प्रतियोगीले नेपालमा विकासका सम्भावना र चुनौति, समाजमा सामाजिक संजालको प्रभाव र शहरीकरणमा बसाईसराईको भूमिका विषय मध्य कुनै एक विषयमा आफ्नो प्रस्तुती दिनुपर्ने छ ।
यसैगरी खुल्ला चित्रकला प्रतियोगितामा नगरस्तरीय प्राथमिक, निम्न माध्यमिक र माध्यमिक विद्यालयका छात्रछात्रा सहभागी हुन सक्ने छन् । कोषका संस्थापक अध्यक्ष उत्तम बहादुर राउतले वक्तृत्वकला भदौ २१ गते मुनाल क्लवमा र चित्रकला प्रतियोगिता भदौ १४ गते विष्णुदेवी माध्यमिक विद्यालय तीनथानामा हुने बताउनु भयो ।



दुबै प्रतियोगिताका विजेतालाई भदौ २१ गते आयोजना हुने कार्यक्रममा पुरस्कृत गरिनेछ । कोषले पुरस्कार राशी पनि तोकेको छ । कोषका अनुसार वक्तृत्वकलामा प्रथम हुनेलाई नगर १५ हजार, दोस्रो हुनेलाई १० हजार, तेस्रो हुनेलाई ५ हजार र दुई जनालाई सान्त्वना पुरस्कार स्वरुप १ हजार ५ सय रुपैयाँ प्रदान बताइएको छ ।
कोषको नियमित बार्षिक कार्यक्रमअन्तरगत दुईवटा प्रतियोगिता संचालन गरेको जनाएको छ । साथै यो प्रतियोगिता पनि विगतकै निरन्तरता रहेको संस्थापक अध्यक्ष राउतले जानकारी दिनुभयो ।



