काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा वैशाख ११ गतेदेखि १९ गतेसम्म आयोजना हुन लागेको ‘चन्द्रागिरि नवाह कथा महायज्ञ तथा सवा करोड दीप प्रज्ज्वलन कार्यक्रम’ को तयारी तीव्र रूपमा अघि बढाइएको छ । कार्यक्रम सफल पार्ने उद्देश्यले प्रत्येक घर–घरबाट पाँच सुतेबत्ती र आवश्यक तेल संकलन गर्ने अभियान पनि सुरु गरिएको छ ।
उक्त अभियानको औपचारिक सुरुवात चन्द्रागिरि नगरपालिका–७ स्थित वनदेवी मन्दिरमा विशेष पूजाआजा गरी गरिएको हो । धार्मिक आस्था र सामूहिक सहभागितालाई एकीकृत गर्ने लक्ष्यसहित सुरु गरिएको यस अभियानले स्थानीय समुदायमा उत्साह र एकताको सन्देश प्रवाह गरेको छ ।



धर्मलाई केवल पूजा–पाठमा सीमित नराखी जीवनको अनुशासन, सदाचार, सहिष्णुता र सह–अस्तित्वको मार्गदर्शनका रूपमा ग्रहण गर्नुपर्ने मूल भावनालाई आत्मसात गर्दै आयोजना हुन लागेको यो महायज्ञले राष्ट्रमा शान्ति, मानव कल्याण तथा धर्म–संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
घर–घरबाट स्वेच्छिक रूपमा संकलन गरिने बत्ती र तेलले सामूहिक उत्तरदायित्व र सहकार्यको सशक्त उदाहरण प्रस्तुत गर्ने विश्वास गरिएको छ । एउटा सानो दीपले अन्धकार हटाएझैं, सवा करोड दीप प्रज्ज्वलनले समाजमा व्याप्त विकृति, विसंगति र निराशालाई हटाई आशा, उज्यालो र सकारात्मक ऊर्जा फैलाउने आयोजकको धारणा छ ।
धार्मिक तथा समाजसेवी अभियन्ता हरि महतको पहलमा सञ्चालन हुन लागेको यस महायज्ञले धार्मिक कर्मकाण्डसँगै समाजमा नैतिक मूल्य, पारस्परिक सम्मान र सहिष्णुताको भावना अभिवृद्धि गर्ने लक्ष्य लिएको छ । तीव्र आधुनिकीकरण र भौतिकतावादी सोचबीच हराउँदै गएका परम्परा र संस्कारको पुनर्जागरणका लागि यो प्रयास कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ ।
इतिहास, संस्कृति र आस्थाको संगमस्थलका रूपमा परिचित चन्द्रागिरि अब पुनः एकपटक आध्यात्मिक चेतनाको उज्यालोले झलमल्ल हुने तयारीमा छ । यस पवित्र अवसरमा सहभागी भई आत्मिक शान्ति, पुण्य लाभ तथा समाज रूपान्तरणको अभियानमा योगदान पुर्याउन सम्पूर्ण श्रद्धालुहरूमा हार्दिक आह्वान गरिएको छ ।



