काठमाडौं । चन्द्रागिरि नगरपालिकाले स्थानीय उत्पादनलाई बढावा दिने उद्देश्यले पहिलो पटक स्थानीय उत्पादन विक्री केन्द्र संचालनमा ल्याएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर २ नागढुंगामा संचालन भएको विक्री केन्द्र नगरको व्यवस्थापनमा बाघ बछला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संचालनमा ल्याएको हो ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरबासीले उत्पादन गरेको स्थानीय उत्पादनलाई बजार व्यवस्थापनमा सहजीकरण होस् भन्ने उद्देश्यले विक्री केन्द्रको सुरुवात गरिएको दाबी गर्नुभयो । उहाँले नगरपालिकाले विगतमा प्रदान गरेको विभिन्न उत्पादन मुलक तालिमलाई अब नगरबासीले आय आर्जनसँग जोड्नु पर्ने पनि बताउनु भयो । उहाँले नागढुंगाबाट सुरुभएको विक्री केन्द्र अब वडा ३ को थानकोट र १४ नम्बर वडा नयाँ नैकापमा पनि विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।



प्रमुख गिरीले अब विद्यालय तहबाट नै प्राविधि शिक्षा दिने व्यवस्था गर्ने र उनीहरुलाई उत्पादनमा जोड्ने वातावरण नगरपालिकाले तयार गर्ने पनि बताउनु भयो । उहाँले विद्यार्थीलाई उत्पादन र शीपसँग जोड्न नगरले नगर पाठ्य पुस्तक ल्याउन लागेको पनि जानकारी गराउनु भयो । उहाँले अहिले दिईदै आएको तालिम अब विद्यालय तहमै स–साना नानीबाबुले पाउँदा देशमा बढ्दै गएको आर्थिक समस्यामा थोरै भएपनि टेवा पुग्ने र कामको लागि अन्यत्र भौतारिन नपर्ने दाबी गर्नुभयो ।
कार्यक्रममा उपप्रमुख बसन्ती श्रेष्ठ, नगर प्रवक्ता कृष्णप्रसाद खड्गी, वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।




