काठमाडौं । चन्द्रागिरि नगरपालिकाको नगर प्रहरीका लागि कूल २ सय ९९ जनाको निवदेन परेको छ ।
नगरपालिकाले गत असार ५ गते जारी गरेको सूचना पछि उक्त संख्यामा निवेदन परेको हो । नगरपालिकाले छैटौं अधिकृत स्तरको एक नगर प्रहरी निरीक्षक, सहायक चौंथो तहको नगर प्रहरी सहायक निरीक्षक एक, नगर प्रहरी जवान १५ खुला र महिलातर्फ ८ जना नगर प्रहरी जवानको लागि दरखास्त आह्वान गरेको थियो ।



जसमध्ये छैटौं अधिकृत स्तरको एक नगर प्रहरी निरीक्षकको लागि ४ जनाको निवेदन परेको छ भने सहायक चौंथो तहको नगर प्रहरी सहायक निरीक्षकका लागि २० जनाको निवेदन परेको छ । यस्तै २३ नगर प्रहरी जवान पदका लागि २ सय ७५ जनाको निवेदन परेको छ । नगरपालिकाले नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७९ अन्तर्गत करारमा नगर प्रहरी नियुक्ति प्रक्रिया अघि बढाएको हो । छनोट प्रक्रिया दुई साताभित्र सुरु गरिने नगरपालिकाको तयारी छ । निवेदक २९९ जनामध्येबाट २५ नगर प्रहरी नियुक्त हुनेछन् ।



