काठमाडौं । काठमाडौं उपत्यका प्रहरी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले चाडपर्वको अवसरमा सावधानी अपनाउन आग्रह गर्नुभएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं उपत्यका प्रहरी कार्यालयको संयुक्त आयोजनामा आयोजित ‘ट्राफिक वाक’ तथा सुरक्षा सचेतना कार्यक्रममा उहाँले चाड पर्वको नाममा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदा अनाहकमा ज्यान गइरहेको बताउनु भयो ।
एआइजी कार्कीले सबै सवारी चालक, यात्रु र सर्वसाधारणलाई चाडपर्वको अवसरमा सावधानी अपनाउन, ट्राफिक नियमको पालना गर्न र सुरक्षामा खटिने ट्राफिक प्रहरीलाई सहयोग गर्न अपिल गर्नुभयो । उहाँले आफूले गर्ने व्यवहार र सिकोबाट आगामी पुस्तामा सकारात्मक प्रभाव पर्न सक्ने भएकाले प्रत्येक नागरिकले ट्राफिक सुरक्षालाई आत्मसात् गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।



काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले चाडपर्वको समयमा मादक पदार्थ तथा लागुऔषध सेवनले नागरिकको ज्यान जोखिममा पर्ने गरेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रहरी नायब महानिरीक्षक ओमबहादुर राना, ट्राफिक सचेतना अभियन्ता डा. ओममूर्ति अनिललगायतको उपस्थिति रहेको थियो ।



