नारायणी अस्पताल, वीरगञ्जका चिकित्सक डा. प्रमोद राममाथि कुटपिट भएको घटनाको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा बुधबार देशभरका सरकारी अस्पतालमा आकस्मिकबाहेकका ओपीडी सेवा बन्द गरिएको छ। आन्दोलनका कारण वीर, त्रिभुवन विश्वविद्यालय शिक्षण, सिभिललगायत प्रमुख सरकारी अस्पतालमा नियमित स्वास्थ्य सेवा प्रभावित भएको छ भने उपचारका लागि पुगेका बिरामी र उनीहरूका आफन्त ओपीडी टिकट नपाएर मर्कामा परेका छन्।

वीर अस्पतालका सूचना अधिकारी डा. प्रकाश बुढाथोकीका अनुसार संघको सूचना ढिलो प्राप्त भएकाले करिब २०० बिरामीको टिकट काटिसकिएको थियो। टिकट लिएका बिरामीको स्वास्थ्य परीक्षण सम्पन्न गरेपछि मात्र ओपीडी सेवा बन्द गरिएको उहाँले बताउनुभयो।

यता कान्ति बाल अस्पतालले भने अस्पताल पुगेका बिरामीलाई आकस्मिक कक्षको टिकटमार्फत सेवा उपलब्ध गराइरहेको जनाएको छ। अस्पतालका निर्देशक डा. पंकज रायले उपचारका लागि आएका बिरामीलाई फर्काइएको नभई वैकल्पिक व्यवस्थामार्फत सेवा दिइएको जानकारी दिनुभयो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार सेवा कुनै पनि अवस्थामा अवरुद्ध नगर्न सबै अस्पताललाई आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढिरहेको जनाउँदै स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न अपिल गर्नुभएको छ। मन्त्रालयको आग्रहका बाबजुद चिकित्सकहरूको आन्दोलन जारी रहेकाले देशभरका सरकारी अस्पतालमा ओपीडी सेवा प्रभावित बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय