कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न अवैध रूपमा प्रवेश गरेका बेल्डाँडी गाउँपालिकाका तीन जना महिलाको नेपाली सेनाले सकुशल उद्धार गरेको छ। उनीहरूलाई आज बिहान निकुञ्जभित्रको लल्लेरी क्षेत्रबाट उद्धार गरिएको हो।
रणसिंह दल गणका क्याप्टेन सुमन केसीको नेतृत्वमा खटिएको सैनिक टोलीले खोजी अभियान सञ्चालन गर्दै ती महिलालाई सुरक्षित रूपमा बाहिर ल्याएको जनाएको छ।



यसैबीच, बागफाँटा क्षेत्रबाट निकुञ्ज प्रवेश गरेका अन्य १४ जना महिला अझै सम्पर्कविहीन रहेका छन्। उनीहरूको खोजीका लागि नेपाली सेना, निकुञ्ज प्रशासन तथा अन्य सम्बन्धित निकायले संयुक्त रूपमा तीव्र खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेका छन्।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षणका लागि संवेदनशील क्षेत्र भएकाले अनुमति बिना प्रवेश गर्न कानुनी रूपमा निषेध गरिएको छ। निकुञ्जभित्र जंगली जनावरको आक्रमण, बाटो बिराउने, बाढी तथा अन्य प्राकृतिक जोखिमका कारण मानव जीवनसमेत जोखिममा पर्न सक्ने भएकाले सम्बन्धित निकायले सर्वसाधारणलाई अवैध रूपमा निकुञ्ज प्रवेश नगर्न आग्रह गर्दै आएका छन्।
घटनापछि स्थानीय प्रशासन तथा सुरक्षा निकायले सम्पर्कविहीन महिलाको शीघ्र खोजी तथा उद्धारका लागि सबै उपलब्ध स्रोत र साधन परिचालन गरिएको बताएका छन्। साथै, यस्ता जोखिमपूर्ण गतिविधिमा संलग्न नहुन र आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न सर्वसाधारणलाई पुनः अनुरोध गरिएको छ।



