प्रमुख कार्यकारी अधिकृतसँगको विवाद, कार्यपालिका सदस्यहरुकै असहमति र उपमेयरसँगको समन्वय अभावबीच काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहले शुक्रबार कार्यपालिका बोलाउनुभयो । ६ महिनादेखिको विवाद र दवाव झेल्न नसकेका मेयर बालेनले शुक्रबार एक मिनेटभित्रै बैठक सक्नुभयो । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसँग मञ्च सेयर गर्न बाध्य बालेनले अन्ततस् अडानबाट गल्दै महानगरलाई बजेट शुन्यताबाट बाहिर निकाल्नु भएको छ । अब आगामी आइतबार महानगरले आगामी आर्थिक वर्षको बजेट ल्याउने पक्का भएको छ ।

विगत ६ महिनादेखिको विवाद समाधान नहुँदै काठमाडौं महानगरको कार्यपालिका बैठक बसेको छ । असार १० गतेभित्र बजेट ल्याउनै पर्ने अवस्था भए पनि मेयर बालेन्द्र शाहको अडानले कार्यपालिका बैठक नै बस्न सकेको थिएन । मेयर शाह जसरी पनि कार्यकारी अधिकृत सरोज गुरागाईंलाई अस्वीकार गर्ने पक्षमा हुनुहुन्थ्यो । गुरागाईं र बालेनबीच पुरानो बसपार्कस्थित काठमाडौं टावरको नक्सा पासबारेको विवादकै कारण कार्यपालिका र नगरसभा पनि धकेलिएको हो । महानगरले बनाएको छानबिन समितिका आधारमा कारबाही सिफारिस भएपछि गत वर्षको पुस ५ गतेदेखि कार्यकारी अधिकृत सरोज गुरागाईं विदामा बस्नुभयो । बालेनले अर्को कार्यकारी अधिकृत माग गर्दै संघीय मन्त्रालयमा चिट्ठी पठाउनुभयो । तर फागुन २२ गते संघीय मामिलाले काठमाडौं महानगरलाई गुरागाईंले काम गर्ने वातावरण बनाउनु भनेर पत्र पठायो । यसले बालनेसँग संघीय सरकारको टकराब झन् बढ्यो । सरकारले महानगरमै यथावत राखेपछि गुरागाईं चैत्र २१ गते महानगरकै कर्मचारी र वडाअध्यक्षहरुको सहयोगमा हाजिरी गर्न पुग्नुभयो । यसमा उपमेयर सुनिता डंगोलले साथ दिनुभयो ।

गुरागाईंले आफूलाई कार्यालय प्रवेशमा असहयोग गरेका महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई जेठ ६ गते निलम्बन गर्नुभयो । यो घटनापछि बालेनसँग थप टकराब बढ्यो । बालेनले पनि जेठ १ गते महानगरमा चार जना वडाअध्यक्षको जिम्मेवारी खोसेर नयाँलाई तोक्नुभयो । यसले झन् विवाद बढायो । अन्ततः बालेनले असार ५ गते कारबाहीमा परेका चारै वडाअध्यक्षलाई पुरानै जिम्मेवारी दिनुभयो । त्यसअधि असार ४ गते राजु पाण्डेलाई जिम्मेवारीमा फर्काउन उच्च अदालतले अन्तरिम आदेश दिएको थियो । यी घटनाक्रमपछि बालेन र गुरागाईंबीचको इगो केही शान्त भएको देखिन्छ ।

अब भने महानगरको बजेट आउने बाटो खुलेको छ । शुक्रबार बैठक सुरु हुनासाथ मेयर बालेनले कार्यपालिका र नगरसभा बैठक सम्बन्धी प्रस्ताव पढेर सुनाउनुभयो । काठमाडौं प्लाजास्थित महानगरपालिकाको कार्यालयमा बसेको बैठकमा आइतबार बिहान ९ बजे कार्यपालिका बस्ने र दिउँसो २ बजे नगरसभा बस्ने प्रस्ताव पेस भयो । उक्त प्रस्ताव पेस गरेलगत्तै कार्यपालिका सदस्यले प्रस्ताव स्वीकार गरे । लगत्तै, अन्य केही विषय नभएको भन्दै मेयर शाहले बैठक सकिएको घोषणा गर्नुभयो ।

शुक्रबार नै काठमाडौं महागरपालिकाको राजश्व परामर्श समिति बैठकले आगामी आर्थिक वर्ष २०८२-८३ मा २५ अर्ब ११ करोड रुपैयाँ बराबरको सीमा निर्धारण गरेको छ । आइतबार सोही बराबरको बजेट उपप्रमुख सुनिता डंगोलले पेश गर्ने कार्यसूची तय भएको छ । र योसँगै महानगरमा ६ महिनादेखि चलिरहेको प्रमुख भर्सेर कार्यकारी, प्रमुख भर्सेस कार्यपालिका सदस्यबीचको शितयुद्व पनि समाप्तिको बाटोमा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय