जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थाका ५५ वर्षीय बेचन महासेठले आफ्ना ससुरा वासुदेव प्रसाद साहको चक्कु प्रहार गरी हत्या गरेका छन्। वासुदेव प्रसाद जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज साहका काका हुन्। गत असार १८ गते पारिवारिक विवादका क्रममा रिसइबीमा आएर महासेठले आफ्ना ससुराको पेटमा चक्कु प्रहार गरी गम्भीर घाइते बनाएका थिए। घाइते अवस्थामा अस्पताल लैजाने क्रममा वासुदेवको मृत्यु भएको थियो। घटनापछि फरार रहेका अभियुक्त महासेठलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले जनकनन्दनी गाउँपालिकास्थित खजुरी रेल्वे स्टेशनबाट पक्राउ गरेको हो।



जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक नरहरी रेग्मीका अनुसार, प्रहरीले घटनास्थलबाट स्टिलको चक्कु र महासेठले प्रयोग गरेको मधेश प्रदेश ०२–००७ प. ९९३२ नम्बरको रातो–कालो रंगको होन्डा स्कुटर पनि बरामद गरेको छ। प्रहरीले घटनाको कारण पारिवारिक विवाद रहेको जनाएको छ। पक्राउ परेका महासेठमाथि आवश्यक अनुसन्धान अघि बढाइएको छ भने घटनासँग सम्बन्धित थप विवरण संकलन गर्ने कार्य जारी रहेको छ। स्थानीयहरूले हत्या भएको घटनाले समाजमा त्रास फैलिएको बताउँदै न्यायिक कारबाहीको माग गरेका छन्।



