म तिमीलाई प्रेम गर्छु भनिरहेको थिएँ

म तिमीलाई प्रेम गर्छु भनिरहेको थिएँ ।
हरेक दिन
हरेक रात तिम्रो प्रतीक्षा गरिरहेको थिएँ
हरेक पल
हरेक क्षण तिम्रो प्रतीक्षा गरिरहेको थिएँ ।



तिमी रातहरुमा नआएपछि
मैले रातहरुलाई प्रेम गर्न थालेँ
तिमी दिनहरुमा नआएपछि
मैले दिनहरुलाई प्रेम गर्न थालें ।
तिमी कुनै पनि पल/कुनै पनि क्षण नआएपछि
मैले हरेक क्षण/हरेक पलहरुलाई प्रेम गर्न थालेँ !
म तिमीलाई प्रेम गर्छु भनिरहेको थिएँ –
तिमीलाई फूलहरु उपहार दिन्छु भनेर सोचिरहेको थिएँ !
तिमीलाई सम्झेर म रोइरहेको थिएँ
शीत बनेर खसिरहेको थिएँ
आँसु बनेर जमिरहेको थिएँ ।
जून/तारा र आकाश
घाम/नदी र बतास
बाटो/सपना र यात्रा
मैले तिमीलाई जताततै खोजिरहेको थिएँ ।
मैले तिमीमा आफूलाई खोजिरहेको बेला
मैले तिमीभित्र प्रेम खोजिरहेको बेला
आँखामा जीवनको प्राप्ति र सौन्दर्य साँचेर –
उजाड खण्डहरमा फूलहरु फुलिरहेको देखें
ढुंगाको कठोर छातीमा फूलहरु हाँसिरहेको देखें ।
मैले पहिलोपटक थाहा पाएँ –
फूलहरु प्रेमका लागि होइनन्
स्वयं प्रेम हुन् ।
म तिमीलाई प्रेम गर्छु भनिरहेको थिएँ –
तिमीलाई फूलहरु उपहार दिन्छु भनेर सोचिरहेको थिएँ
तर, म त आजभोलि –
फूलहरुको पुजारी भएको छु
फूलहरुको माली भएको छु ।
म तिमीलाई प्रेम गर्छु भनिरहेको थिएँ
तर, आजभोलि –
फूलहरुलाई प्रेम गर्न थालेको छु !
– प्रेमको अवसानमा
प्रेमकै समाधिमाथि प्रेमपूर्वक फूलिरहने
फूलहरुलाई प्रेम गर्न थालेको छु !
OOO
मुटु फ्रीजमा छ

दिमाग कुहिएपछि
यादहरु गन्हाउँदो रहेछ !
प्रिय पृथ्वी !
नझर्नुपर्ने बेलामा किन झरिरहेछ आँसु ?
टाँकी घाँसका टुप्पाहरुमा
सुक्दै गएको शीत जस्तो
किन सुक्दै गएको छ मेरो स्मृति ?
यो डरलाग्दो एक्लोपनमा
किन आइरहेको छैन याद प्रेमिकाको ?
त्यो साँझ
त्यो पल
त्यो दोबाटोको प्रतीक्षा किन अंकित छैन कतै ?
सायद –
यो शहरमा अब सम्झनाहरुको आवत जावत छैन
प्रेमको अभिलेख छैन ।
कुनैपनि प्रेमीहरु हिंडिरहेको देखिंदैन दृश्यमा
कुनै पनि गल्लीमा चुम्बन गरिरहेको भेटिंदैन जोडीहरु
केवल –
सालिकहरुमा फुलमाला झुण्डिएको छ
र, प्रेम सहिद भैरहेको छ !
युगौंदेखी प्रदर्शनीमा राखिएको छ
प्रेमीहरुको मुटु !
जसले पनि हेर्न सक्छ पोस्टमार्टम रिपोर्ट
र, प्रेमीहरुको नाङ्गो लास !
निरन्तर –
मौन उभिएर इतिहास
साक्षी बकिरहेको छ हत्याराहरुको पक्षमा ।
यस्तो बेला –
किन धड्किनु प्रेमीहरुको मुटु ?
त्यसकारण मुटु फ्रीजमा छ !
OOO
म त्यहीँ छु

म कहाँ छु ?
बगेको जस्तो ।
जमेको जस्तो ।
शून्यमा आकार भर्दै निर्माण भएको मस्तिष्क
या, मस्तिष्कमा शून्यता भरिंदै गरेको आकार
च्यापेर हत्यारा साँझको बाटो
पुतली समाउन दौडिरहेको हात
वा, खुट्टा
वा, विश्राम खोज्दै तड्पिरहेका चराका बथानहरु
वा, बाबु आमालाई कतै जान्न भनेर गएको छोरो
कसरी हरायो आफैभित्र ?
उम्रेका लेउ, सुकेका नदीनालाहरु
घाम र छाँयाहरुको दुर्गमता
स्वप्निल आँखाहरुको यात्रा
र घनघोर वर्षातले पखाल्दै लगेका यादहरु !
जहाँसम्म जीवित थियो
त्यो समय त्यसैगरी बित्यो
र, त्यहाँसम्म
मैले राखेको जस्तो लागेको थियो आफ्नो विगत !
गएको जस्तो पनि लागेको छ
आएको जस्तो पनि लागेको छ
विडम्बना –
मसँग सुरक्षित छैन रहेछ आफ्नै स्मृति !
हो जस्तो
हो जस्तो
होइन जस्तो
होइन जस्तो
त्यो त्यही ठाउँ हो जहाँ अहिले पनि म प्रतीक्षामा छु ।
त्यो चौतारो त्यहीँ उपस्थित छ
त्यो वैचेनी त्यहीँ उपस्थित छ
त्यो एक्लोपन त्यहीँ उपस्थित छ ।
म त्यहीँ छु
जहाँ पहिला थिएँ !
यो सबै तिमीलाई थाहा छ ।
घरहरुले ढोका खोल्न बन्द गरेपछि
झ्यालहरुबाट निस्कँदै गर्दा
वा, अँध्यारोमा हामी रुँदै गर्दा
जसरी अंगालोमा बाँकी थियो ढुकढुकी !
म त्यहीँ छु
– जहाँ भयले त्रासलाई निलिरहन्छ ।
म त्यहीँ छु
– जहाँ घृणाले प्रेम निलिरहन्छ ।
म त्यहीँ छु
– जहाँ अहिले केहि छैन ।
म त्यहीँ छु –
जहाँ सँधै तिमी आउँथ्यौ र, जान्थ्यौ !
– भन्नेहरुले यही भन्छन् –
म/त्यहीँ छु भन्छन् हिंडिरहने बटुवाहरुले
म/त्यहीँ छु भन्छन् तिमीलाई चिनेका तिम्रा आफन्तहरुले
म/त्यहीँ छु भन्छन् रमिता हेर्ने मानिसहरुले
म/त्यहीँ छु भन्छन् ढुङ्गाका ईश्वरहरुले !
म त्यहीँ छु –
जहाँ तिमी मलाई भेट्न आउँथ्यौ
र, म तिम्रो प्रतीक्षामा देउराली झैं उभिरहन्थेँ ।
म त्यहीं छु –
जहाँ अहिले झरेका पातहरु छन्
छुटेका साथहरु छन् ।
हो
म त्यहीँ छु ।
– जहाँ समाप्त हुन्छ घृणाको सिमाना
र, सुरु हुन्छ प्रेमको भुगोल !
OOO



