श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङको जनकपुर भ्रमणअघि जानकी मन्दिर परिसरमा तनावको अवस्था सिर्जना भएको छ। अध्यक्ष साम्पाङलाई स्वागत गर्न पुगेका श्रम संस्कृति पार्टीका नेता तथा कार्यकर्तालाई हिन्दु सम्राट सेनासम्बद्ध कार्यकर्ताले मन्दिर परिसरबाट हटाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
मंगलबार जानकी मन्दिर दर्शनका लागि साम्पाङ जनकपुर आउने कार्यक्रम तय भएको थियो। सोही क्रममा स्वागतका लागि पुगेका पार्टी कार्यकर्तालाई विरोध गर्दै हिन्दु सम्राट सेनाका कार्यकर्ताले त्यहाँबाट हटाएको बताइएको छ। हिन्दु सम्राट सेनाले विगतमा साम्पाङले गाईको मासु खाने विषयमा दिएको अभिव्यक्तिको विरोध गर्दै उनलाई जानकी मन्दिर प्रवेश गर्न नदिने चेतावनी दिएको जनाएको छ। घटनापछि हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिएका छन्। उनले लेखेका छन्, “गाई कसले खाएको रैछ? गाई खानेलाई मन्दिरमा पस्न नदिने भनेको देखें! यो कसले कस्तो राजनीति गर्न खोजेको रैछ? जय जानकी मन्दिर!”



यसअघि उनले अर्को फेसबुक पोस्टमा “जनकपुरमा लफडा, गृहमन्त्रीको फोन अफ!” भन्दै जनकपुरमा विवादको अवस्था सिर्जना भएको उल्लेख गरेका थिए। साथै, पुराना अभिव्यक्ति र धार्मिक विषयलाई लिएर विवाद भएको दाबी गर्दै आफ्ना समर्थकलाई संयमित रहन आग्रह गरेका छन्। यसैबीच, श्रम संस्कृति पार्टीले जनकपुरमा साधारण सभा तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको जनाएको छ। घटनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने यस घटनाबारे सम्बन्धित निकायबाट थप आधिकारिक विवरण आउन बाँकी छ।



