मंगलबार भएको जेन-जीन आन्दोलनले देशको प्रमुख संरचनामा ठूलो क्षति पुर्याएपछि राजधानी काठमाडौंमा सुरक्षाकर्मीको उपस्थिति कडा पारिएको छ। राति १० बजेदेखि नेपाली सेनासहितका सुरक्षा निकायहरू सडकमा गस्तीमा परिचालित भएका हुन्। सेनाले राजधानीका मुख्य सडक र गल्लीहरूमा गस्ती गर्दै सर्वसाधारणलाई विना आवश्यक काम बाहिर ननिस्किन आग्रह गरेको छ। घरबाहिर निस्किएकाहरुलाई सेनाले फर्काइरहेको छ। तर आकस्मिक सेवामा संलग्न चिकित्सक, पत्रकार र आपतकालीन जिम्मेवारीमा खटिएका कर्मचारीलाई परिचयपत्रका आधारमा मात्र आवागमनको अनुमति दिइएको छ।
प्रदर्शनकारीले आगो लगाएको संसद भवनमा अहिले सेनाले कडा निगरानी गरिरहेको छ। सर्वसाधारणलाई संसद परिसरमा प्रवेश गर्न प्रतिबन्ध गरिएको छ। यससँगै अन्य सरकारी तथा संवैधानिक निकायहरूमा समेत नेपाली सेना र प्रहरी बल बढाइएको छ।



मंगलबार दिउँसोदेखि सुरु भएको जेन-जीन आन्दोलन आक्रोशित भीड सडकमा उत्रिएपछि अराजक स्थितिमा पुगेको थियो। आन्दोलनका क्रममा सिंहदरबारसहितका सरकारी संरचनामा आगजनी र तोडफोड भएको थियो। सोमबार भएको आन्दोलनमा १९ जनाको ज्यान गएपछि परिस्थिती झन् तनावग्रस्त बनेको हो।



