काठमाडौं, भदौ २२ – सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र बढ्दो भ्रष्टाचारविरुद्धको प्रदर्शन नियन्त्रण बाहिर जाँदा काठमाडौंमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। जेनजी पुस्ताको नेतृत्वमा भइरहेको प्रदर्शन सोमबार संसद भवनभित्रसमेत प्रवेश गरेपछि स्थिति तनावग्रस्त बनेको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार दिउँसो १२:३० बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश लागू हुने जानकारी दिएको छ। प्रमुख जिल्ला अधिकारी छवि रिजालका अनुसार, संसद भवन परिसरसम्म प्रदर्शनकारी प्रवेश गरेपछि सुरक्षा अवस्था नियन्त्रणमा राख्न कर्फ्यु जारी गर्नुपरेको हो।
माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरको निषेधित क्षेत्र पार गर्दै संसद भवनको गेट हुँदै केही प्रदर्शनकारी भवनभित्रसम्म प्रवेश गरेका थिए। सुरक्षाकर्मीले रोक्न खोज्दा झडपको स्थिति उत्पन्न भयो र प्रहरीद्वारा अश्रुग्याँससमेत प्रहार गरिएको थियो।



प्रदर्शनकारीले सरकारको अत्याचार बन्द गरू,सामाजिक सञ्जाल खोलू,भ्रष्टाचार विरुद्ध आवाज दबाउन पाइँदैनू जस्ता नारा लगाउँदै निषेधित क्षेत्रमा प्रवेश गरेका थिए। प्रमुख जिल्ला अधिकारी रिजालले भने,स्थिति नियन्त्रण बाहिर जान थालेपछि हामीले नागरिकको सुरक्षा, सार्वजनिक शान्ति र सुव्यवस्था कायम गर्न कर्फ्यु आदेश जारी गरेका हौं। कर्फ्यु अवधिभर घर बाहिर ननिस्कन र भिडभाड नगर्न प्रशासनले नागरिकलाई आग्रह गरेको छ। कर्फ्यु आदेशको समयमा निर्दिष्ट क्षेत्रभित्र मानिसलाई हिँडडुल, जम्मा हुने वा कुनै पनि गतिविधि गर्न अनुमति हुँदैन। आदेश उल्लङ्घन गर्नेहरूलाई पक्राउ तथा कानुनी कारवाही गरिने जनाइएको छ।

जेनजी पुस्ताले सुरु गरेको शान्तिपूर्ण आन्दोलनले अब उग्र रूप लिन थालेको देखिन्छ। सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णय र त्यसपछि आएको कर्फ्यु आदेशले स्थिति थप जटिल बन्दै गएको छ। युवा पुस्ताको आवाज दबाउने प्रयासले सरकार–नागरिक सम्बन्धमा दीर्घकालीन असर पार्न सक्ने चिन्ता बढेको छ।



