काठमाडौं । ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा फरार रहेकी सामाजिक सञ्जालमा सक्रिय व्यक्तित्व तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ । नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत गरिएको समन्वयपछि उनी पक्राउ परेकी हुन् ।

प्रहरीले अधिकारी हाल ललितपुर प्रहरीको नियन्त्रणमा रहेको जनाएको छ । उनलाई नेपाल ल्याइएपछि मुद्दासम्बन्धी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । अनुसन्धानका क्रममा उनीविरुद्ध दर्ता भएका आरोप र आर्थिक कारोबारका विषयमा सोधपुछ भइरहेको जनाइएको छ ।

अधिकारीविरुद्ध ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ । उनीमाथि ठूलो रकम संकलन गरी विश्वासघात गरेको आरोप लागेपछि प्रहरीमा उजुरी परेको थियो । प्रारम्भिक अनुसन्धानकै क्रममा उनी देशबाहिर गएको तथ्य खुलेपछि पक्राउका लागि अन्तर्राष्ट्रिय सहयोग मागिएको थियो ।

यसै क्रममा इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएको थियो । रेड नोटिस जारी भएपछि विभिन्न मुलुकका सुरक्षा निकायसँग समन्वय गर्दै उनको खोजी कार्य तीव्र बनाइएको थियो । थाइल्याण्डमा उनको अवस्थिति पत्ता लागेपछि पक्राउ गरी कानुनी प्रक्रियामार्फत नेपाल ल्याइएको हो ।

प्रहरी अभिलेखअनुसार अधिकारीविरुद्ध गत साउन महिनामा ललितपुरस्थित प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा उजुरी दर्ता भएको थियो । उजुरीपछि सुरु भएको अनुसन्धानमा आर्थिक कारोबार र रकम संकलनका गतिविधिमाथि प्रश्न उठेपछि मुद्दा थप गम्भीर बन्दै गएको थियो ।

अनुसन्धान अधिकारीहरूले मुद्दासँग सम्बन्धित कागजात, बैंकिङ कारोबार तथा अन्य प्रमाणहरूको अध्ययन भइरहेको जनाएको छ । आवश्यक प्रमाण संकलनपछि उनलाई अदालतमा उपस्थित गराई थप कानुनी प्रक्रिया अघि बढाइने तयारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय