हेटौंडा – हेटौंडा–७ नागस्वतीस्थित तासिर इंग्लिस बोर्डिङ स्कूलका एक शिक्षकको कुटपिटबाट कक्षा ८ मा अध्ययनरत १२ वर्षीय विद्यार्थी सबिर भुजेल घाइते भएका छन्। पीडित पक्षका अनुसार जेठ ७ गते कक्षाकोठामा प्रश्नको उत्तर दिन नसकेको भन्दै सामाजिक विषयका शिक्षक अच्युत ओझाले विद्यार्थीमाथि कुटपिट गरेका थिए। घटनापछि बालकको टाउकोमा समस्या देखिएको र उपचारका क्रममा शल्यक्रिया गर्नुपरेको दाबी गरिएको छ।



घटनाबारे उजुरी लिएर पीडित परिवार तथा नागरिक समाजका प्रतिनिधिहरू बिहीबार जिल्ला प्रहरी कार्यालय मकवानपुर पुगेका छन्। पीडित पक्षले कुटपिटकै कारण बालकको स्वास्थ्यमा गम्भीर समस्या देखिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक ९डीएसपी० मदनप्रसाद काफ्लेले पीडित पक्ष प्रहरी कार्यालय आएको पुष्टि गर्दै घटनाबारे आवश्यक कानुनी प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार बालकलाई अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र ९ओसीएमसी० मार्फत पठाइएको छ।
डीएसपी काफ्लेले अस्पतालबाट प्राप्त हुने आधिकारिक घाउजाँच प्रतिवेदनका आधारमा घटनाको प्रकृति र कानुनी पक्ष निर्धारण गरिने बताउनुभयो। प्रहरीका अनुसार आरोपित शिक्षक ओझा पनि घटनापछि बालकको उपचार तथा हेरचाहमा संलग्न रहेका छन्। प्रहरीले घटनाबारे थप तथ्य र प्रमाण संकलन गर्ने काम जारी रहेको तथा अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।



