रसुवा- तिब्बततर्फ बनेको थुनिएको ताल फुटेको सूचना आएपछि रसुवामा फेरि बाढीको जोखिम बढेको छ। चिनियाँ पक्षबाट ताल फुटेको जानकारी आएपछि जिल्ला प्रशासन कार्यालय रसुवाले भोटेकोशी नदीको तटीय क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले चिनियाँ पक्षबाट थुनिएको ताल फुटेको सूचना प्राप्त भएको बताए। सूचना आएलगत्तै नदी तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित रहन सर्कुलर गरिएको उनले जानकारी दिए।

नेपाल प्रहरीले पनि छुट्टै सूचना जारी गर्दै उद्धारमा खटिएका सुरक्षाकर्मी तथा सर्वसाधारणलाई तत्काल सतर्क रहन आग्रह गरेको छ। यसअघि आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य चलिरहेका बेला नयाँ बाढीको सम्भावना देखिएपछि सुरक्षा निकाय थप सचेत भएको हो। चीनको तिब्बततर्फ छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक ठूलो ताल बनेको थियो। चिनियाँ जलस्रोत अधिकारीहरूले उक्त क्षेत्रमा पानी जम्मा हुँदै गएको र ताल फुट्ने जोखिम रहेको जानकारी दिएका थिए। पछिल्लो समय सोही थुनिएको ताल फुटेको सूचना नेपालतर्फ आएको हो।

छोचेन खोला र पुरेपू त्साङ्पो नदी भोटेकोशी नदी प्रणालीसँग जोडिएका माथिल्ला सहायक नदी हुन्। त्यस क्षेत्रमा पानीको बहाव बढेमा त्यसको प्रभाव नेपालतर्फ भोटेकोशी नदीमा पर्न सक्छ। यसअघि भोटेकोशीमा आएको बाढीले रसुवामा ठूलो क्षति पुर्‍याएको छ। जलविद्युत् आयोजना, सडक, पुल तथा अन्य संरचनामा क्षति पुगेको छ भने केही व्यक्ति अझै सम्पर्कविहीन छन्। प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम जारी रहेकै बेला फेरि बाढीको जोखिम देखिएपछि नदी किनारमा रहेका बस्ती र उद्धार टोलीलाई थप सावधानी अपनाउन भनिएको छ।

प्रशासनले नदीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा नजान र सम्भावित जोखिम देखिए सुरक्षित स्थानमा जान आग्रह गरेको छ। साथै, बाढीसम्बन्धी सूचना तथा हल्लाभन्दा सम्बन्धित सरकारी निकायबाट जारी हुने आधिकारिक सूचनालाई मात्र आधार मान्न प्रशासनले आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय