काठमाडौं । झापाको बिर्तामोड नगरपालिका–५ स्थित नयाँ बसपार्क क्षेत्रको सुकुम्बासी बस्तीमा रहेको तीनतले घर जमीनमा धसिएको छ । शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि शनिबार बिहान करिब २ बजे स्थानीय ७० वर्षीय पहलमान ठाकुरको घर अचानक भासिन थालेको हो ।
घरको जगमुनिको जमीन कमजोर बन्दै गएपछि भवन एकातर्फ ढल्किन थालेको स्थानीयवासीले बताएका छन् । घर असामान्य रूपमा चर्किन र झुक्न थालेको संकेत पाएपछि भित्र रहेका व्यक्तिहरू तत्काल बाहिर निस्किएका थिए । त्यसक्रममा केही महत्वपूर्ण सामानसमेत सुरक्षित स्थानमा सारिएको जनाइएको छ ।



प्रहरीले घर करिब २० देखि २५ डिग्रीसम्म ढल्किएको जनाएको छ । भवनको संरचनागत अवस्था जोखिमपूर्ण बनेकाले त्यस क्षेत्रमा अनावश्यक आवतजावत नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । थप क्षति हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सुरक्षा सतर्कता बढाइएको बताइएको छ ।
उक्त घरमा दुई जना मात्र बसोबास गर्दै आएका थिए । घटनापछि प्रभावित परिवारलाई सुरक्षित स्थानमा राख्ने तथा आवश्यक सहयोग उपलब्ध गराउने विषयमा सम्बन्धित निकायले पहल थालेको छ ।
प्रारम्भिक रूपमा लगातारको वर्षाका कारण जमिनको वहन क्षमता कमजोर बनेर घर धसिएको अनुमान गरिएको भए पनि वास्तविक कारणबारे प्राविधिक अध्ययनपछि मात्रै निष्कर्ष निकालिने अधिकारीहरूले बताएका छन् । घटनास्थलको निरीक्षणका लागि सम्बन्धित प्राविधिक टोली परिचालन गर्ने तयारी भइरहेको जनाइएको छ ।
मनसुन सक्रिय भएसँगै झापालगायत तराई तथा पहाडी जिल्लाहरूमा जमीन धसिने, कटान हुने र संरचनामा क्षति पुग्ने घटनाहरू बढ्दै गएका छन् ।



