काठमाडौं । सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीको पक्की पुल १४ वर्षदेखि अधुरै छ । वि.सं २०६८ मा तीन वर्षमै सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको चार सय ६९ मिटर लामो पुल अहिलेसम्म निर्माण सम्पन्न नहँुदा स्थानीयवासी बर्सेनि सास्ती भोग्न बाध्य छन् । पुल नबन्दा स्थानीयले अस्थायी रूपमा बनाइएको बाँस वा काठको पुलमार्फत जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ । यही साउनको तेस्रो हप्तामा आएको बाढीले बाँसको अस्थायी पुल बगाएपछि आवतजावत ठप्प भएको थियो । हाल पुनः काठको संरचना बनाएर आवतजावत केही सहज बनाइएको भए पनि जोखिम यथावत् छ ।

सिरहा र धनुषाका स्थानीयवासीहरु पुल नबन्दा वर्षौंदेखि सास्ती भोग्दै आएको र अहिले बनाइएको काठे संरचना जोखिमपूर्ण भएपनि त्यही बाट हिँड्न बाध्य भएको गुनासो गर्छन् । जोखिम भएपनि त्यसमा पनि यात्रुहरूमाथि मनपरी शुल्क असुली भइरहेको उनीहरुको भनाइ छ । नगरपालिकाले निःशुल्क सञ्चालनको दाबी गरे पनि काठे पुलबाट आवतजावत गर्न ५० रुपैयाँसम्म तिर्नुपरेको स्थानीयको भनाइ छ ।

पुल निर्माणको जिम्मा पहिले पप्पु–लुम्बिनी जेभीलाई दिइएको थियो । पप्पु कन्स्ट्रक्सन कालोसूचीमा परेपछि बाँकी काम लुम्बिनी बिल्डर्सले गर्दै आएको हो । तर बाढीले दुई पाया भासिएपछि आवश्यक मर्मतका लागि आठ करोडको बिमा रकम नपाएको कारण देखाउँदै कम्पनीले पछिल्लो एक महिनादेखि काम रोकिदिएको छ ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका अनुसार निर्माण कम्पनीले तोकिएको म्यादमै काम रोकेकाले ठेक्का तोडेर लुम्बिनी बिल्डर्सलाई पनि कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइएको छ । पुल नहुँदा बाढीपछिको समयमा पैदलयात्रुले बाँसको भ¥याङ चढेर वा डुङ्गाबाट नदी पार गर्नुपर्ने अवस्था रहेको छ । कमला नदीमाथिको पुल अधुरो रहँदा हरेक वर्षको वर्षायाम स्थानीयवासीका लागि चुनौती बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय