काठमाडौं । बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले चन्द्रागिरि नगरपालिका थानकोटस्थित त्रिभुवन पार्कको सञ्चालन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बन्धित सम्पत्ति, अभिलेख तथा विवरण नवगठित व्यवस्थापन समितिलाई हस्तान्तरण गर्न निर्देशन दिएको छ ।



मन्त्रालयले शहीद स्मारक प्रकृति प्रतिष्ठान, चन्द्रागिरि–४, काठमाडौंलाई पत्राचार गर्दै त्रिभुवन पार्कसँग सम्बन्धित सम्पूर्ण चल–अचल सम्पत्ति, कागजात तथा प्रशासनिक विवरण यथाशीघ्र हस्तान्तरण गर्न अनुरोध गरेको हो ।
मन्त्रालयका अनुसार प्रदेश सरकारले यसअघि त्रिभुवन पार्क सञ्चालन तथा व्यवस्थापन समिति गठन गरी व्यवस्थापनको जिम्मेवारी प्रदान गरिसकेको छ । सोही व्यवस्थाअनुसार समितिको अध्यक्षमा चन्द्रागिरि नगरपालिका–४ निवासी चन्द्र बहादुर गोपाली मनोनयन भइसकेका छन् ।
हालसम्म शहीद स्मारक प्रकृति प्रतिष्ठानमार्फत सञ्चालन हुँदै आएका काम तथा व्यवस्थापनको जिम्मेवारी अब समितिले सम्हाल्ने भएकाले पार्कसँग सम्बन्धित सम्पूर्ण अभिलेख र सम्पत्तिको हस्तान्तरण आवश्यक भएको मन्त्रालयले जनाएको छ ।
प्रदेश सचिव दिपेन्द्र सुवेदीद्वारा हस्ताक्षरित पत्रमा त्रिभुवन पार्कको व्यवस्थापनलाई संस्थागत र व्यवस्थित बनाउने उद्देश्यले हस्तान्तरण प्रक्रिया शीघ्र सम्पन्न गर्न आग्रह गरिएको छ । त्रिभुवन पार्क बागमती प्रदेशको महत्वपूर्ण पर्यटकीय तथा सार्वजनिक गन्तव्यका रूपमा परिचित रहेको छ ।



