काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर–४ स्थित थानकोट प्राथमिक अस्पतालले आईसीयू सेवा संचालनको तयारी गरेको छ । तयारी स्वरुप वडा नं. ४ र अस्पतालले सशस्त्र प्रहरी अस्पताल बलम्बुका चिकित्सकसहितका प्राविधिक टोलीसँग छलफल समेत गरेको छ । छलफलका क्रममा शसस्त्रका प्राविधिक र चिकित्सकले अस्पतालमा आइसीयू सञ्चालनका लागि उपर्युक्त स्थान नभएको सुझाव दिएका छन् ।




चिकित्सक टोलीले अस्पतालको भौतिक संरचनाका कारण आइसीयू सञ्चालनमा कठिनाइ हुने सुझाव दिएका हुन् । उहाँहरुले अस्पतालको भौतिक संरचना निर्माण नभएसम्म सशत्र प्रहरी अस्पताल बलम्बुमै आईसीयू मेसिन राखेर नगरवासीलाई सुविधा दिन पनि सुझाएका छन् । उहाँहरुले आईसीयू संचालन गर्न सोचेअनुरुप सहज नहुने भन्दै त्यसको लागि नगरपालिकाको बजेटले सम्भव नहुने पनि बताएका छन् ।

वडा अध्यक्ष कृष्णप्रसाद खड्गीले आईसीयू महंगो भएकोले वडाबासीलाई सहज र सर्वशुलभ रुपमा उपचार गराउने उद्देश्यले नगरपालिकाले बागमती प्रदेश सरकारसँग सहयोग मागेको र अब संचालनको अन्तिम तयारीमा रहँदा आएको प्राविधिक समस्यालाई नगरपालिकाले छलफलबाट टुंग्याउने बताउनु भयो ।

चन्द्रागिरि नगरपालिकाले नगरबासीलाई प्राथमिक अस्पतालबाट आइसीयू सेवा दिने भन्दै बागमती प्रदेश सरकारसँग मेसिन सहयोग माग गरेको थियो । बागमती प्रदेश सरकारका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा नगर अस्पतालमा आफै आएर आइसीयू मेसिन प्राथमिक अस्पतालाई हस्तान्तरण गर्नुभएको थियो । बागमती प्रदेश सरकारले प्राथमिक अस्पताललाई ५ वटा आइसीयू मेसिन केही महिना अघि सहयोग गरेको थियो ।



