दसैँ नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको चहलपहल बढ्दै गएको छ । दसैँ सुरु हुन एक हप्ता मात्रै बाँकी रहँदा काठमाडौँ उपत्यका मुख्य व्यापारिक केन्द्रदेखि साना तथा ठुला बजारमा किनमेल गर्ने ग्राहकको भिडभाड बढेको हो । विशेष गरी लत्ताकपडा, सुनचाँदी, जुत्ताचप्पलका पसलमा सामान खरिद गर्न ग्राहकको भिडभाड देखिएको छ ।



लामो समयदेखि सुनसान अवस्थामा रहेको बजार पसलमा शुक्रबारदेखि चहलपहल बढ्न थालेको देखिन्छ । उपत्यकाको मुख्य बजार न्युरोड, असन, भोटाहिटी, विशाल बजार, सुरज आर्केट, मखनगल्लीलगायतका अन्य ठाउँमा दसैँलाई लक्षित सामान किनमेल गर्ने ग्राहकको भिडभाड देखिन थालेको हो । दसैँलाई लक्षित गरेर लत्ताकपडालगायतका सामानमा व्यवसायीले दसैँ अफरसमेत ल्याएका छन् । शनिबार समेत न्युरोडका पसलहरु दशैं लक्षित गरेर खुल्न थालेका छन ।



