काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यो खण्डमा गरिएको ढलानको आयु कम्तीमा ३० वर्ष हुने आयोजनाले दाबी गरेको छ ।
दाउन्नेको भौगोलिक अवस्था र गाडीको चापलाई मध्यनजर गरी कालोपत्रेको सट्टा गुणस्तरीय ढलान गरिएको आयोजनाको भनाइ छ । ३० वर्षको आयु सुनिश्चित हुनेगरी ढलान गरेको, भार नियन्त्रण हुन सकेमा र डिजाइन अनुसारका अन्य मापदण्ड पालना भए ४० वर्षसम्मै ढलान टिक्ने आयोजनाको दाबी छ । जसले नागरिकले दाउन्नेमा भोग्दै आएको सास्ती अन्त्य हुने सरकारको पनि विश्वास छ । आयोजनाका अनुसार उक्त सडकको भारवहन क्षमता एकल चक्के गाडीमा १० रहेको छ ।



२० देखि ३० वर्षको गाडीको चापको पूर्वानुमानलाई आधार मानेर दैनिक १२ देखि २० हजार गाडी आवतजावत गर्दा पनि सडकमा कुनै क्षति नपुग्ने गरी निर्माण गरिएको बताइएको छ । अहिले दाउन्ने मन्दिर मुनिको पहिरो प्रभावित क्षेत्रमा करिव ५० मिटर एकतर्फी ढलान गर्न मात्र बाँकी छ ।
कालोपत्रे गर्दा सडक छिटो बिग्रने र सर्वसाधारणले निरन्तर सास्ती खेप्नुपर्ने अवस्थालाई दृष्टिगत गर्दै आयोजनाले ढलानको विकल्प रोजेको हो । यससँगै दाउन्ने खण्डमा बर्सेनि हुने सडक अवरोध र मर्मतको समस्या दीर्घकालीन रूपमा समाधान हुने विश्वास गरिएको छ ।



