काठमाडौं । दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले गएराती नेकपा एमालेको झण्डा जलाएका छन् । सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएको भिडियोमा रास्वपा कार्यकर्ताले एमालेको ‘सूर्य’ चिन्ह अंकित झण्डा जलाउँदै एमाले नेतृत्व विरुद्ध नाराबाजी गरेका थिए ।

बिहिबार रातीको समयमा रास्वपा सभापति रवि लामिछानेलाई स्वागत गर्न पार्टीका कार्यकर्ता भेला भएका थिए । सोही क्रममा केही कार्यकर्ताले एमालेको चुनाव चिन्ह अंकित झण्डा जलाएको भिडियो सार्वजनिक भएको हो ।

तुलसीपुर नेकपा एमालेका महासचिव शंकर पोखरेलको गृह क्षेत्रका हो । भिडियोमा झण्डा जलाउने क्रममा कार्यकर्ताले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजीसमेत गरेको देखिन्छ । रास्वपा सभापति लामिछाने बिहीबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित कार्यक्रम सकेर तुलसीपुर हुँदै घोराही पुगेका थिए । उनको स्वागतका लागि स्थानीय कार्यकर्ताले विभिन्न स्थानमा कार्यक्रम आयोजना गरेका थिए ।

उक्त घटनाप्रति एमालेका स्थानीय नेता तथा कार्यकर्ताले आपत्ति जनाउँदै यसलाई राजनीतिक असहिष्णुताको उदाहरण बताएका छन् । उनीहरूले लोकतान्त्रिक प्रणालीमा फरक विचार र दलप्रति सम्मान गर्नुपर्नेमा जोड दिँदै दोषीमाथि आवश्यक कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

यस विषयमा रास्वपाको आधिकारिक धारणा भने सार्वजनिक भइसकेको छैन । घटनाको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ भने स्थानीय प्रशासनले पनि घटनाबारे जानकारी संकलन गरिरहेको स्रोतले जनाएको छ ।

राजनीतिक दलहरूबीच चुनावी गतिविधि तीव्र भइरहेका बेला यस्तो घटना सार्वजनिक भएपछि दाङमा राजनीतिक वातावरण थप संवेदनशील बन्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय