काठमाडौं – चर्चित अभिनेता तथा फिल्म निर्माता दीपकराज गिरीले जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको प्रहरी चौकी पुनर्निर्माणका लागि आर्थिक सहयोग गरेका छन्। शनिबार गिरीले आफ्नो जन्मथलो काठमाडौंको थानकोट चेकपोस्टस्थित प्रहरी वृत्तमा पुगेर सहयोग हस्तान्तरण गरेका हुन्। उनले प्रहरी वृत्त थानकोटका प्रमुख डीएसपी एलिजा गिरीलाई ५ लाख रुपैयाँ प्रदान गरे।
गिरीले प्रहरी चौकी स्थानीय सुरक्षासँग प्रत्यक्ष सम्बन्धित भएकाले पुनर्निर्माणमा आफ्नो सानो योगदान हुने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार नागरिक र सुरक्षाकर्मीबीचको विश्वास मजबुत बनाउन यस्तो सहकार्य आवश्यक हुन्छ। जेन–जी आन्दोलनका क्रममा देशभर धेरै प्रहरी चौकी तथा सार्वजनिक संरचनामा क्षति पुगेको थियो। त्यसमध्ये थानकोट प्रहरी चौकी पनि एक हो, जसको पुनःनिर्माणका लागि विभिन्न निकाय तथा व्यक्तिबाट सहयोग संकलन भइरहेको छ।



स्थानीय बासिन्दाले पनि दीपकराज गिरीको सहयोगलाई सकारात्मक कदमका रूपमा स्वागत गरेका छन्। उनीहरूले कलाकार तथा सार्वजनिक व्यक्तिहरूले समाजप्रति देखाएको जिम्मेवारीले पुनर्निर्माण अभियानलाई गति दिने विश्वास व्यक्त गरेका छन्।



