काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सहिदको सपना साकार पार्न अब व्यवस्था परिवर्तनमा अल्झिनु भन्दा पनि यही व्यवस्थाभित्र जनताको जीवनस्तर र अवस्था बदल्न केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ ।

सहिद दिवसको अवसरमा सहिद स्मारक हेटौंडामा आयोजना भएको सहिद दिवस २०८२ समारोहलाई सम्बोधन गर्दै बानियाँले नेपालमा अब राणा र राजा फालेर जनताको सर्वोच्च व्यवस्था गणतन्त्र स्थापना भइसकेकोले थप राजनीतिक परिवर्तनका लागि कसैले सहिद हुनु नपर्ने बताउनुभयो । सहिदको त्याग र बलिदानबाट पछिल्लो समय प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थाले सबै जातजाति, धर्म र समुदायको अधिकार रक्षा गर्ने हुँदा अब यहि व्यवस्थाको रक्षा गर्दै समृद्धिको यात्रामा अघिबढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपालको झण्डा काँधमा राखेर आफ्नै देशको केन्द्र सिंहदरबार जलाउने कार्य नेपालीको हुनै नसक्ने भन्दै पछिल्लो समय भएका केही अराजक गतिविधिप्रति उहाँले कडा आलोचना गर्नुभयो ।

मुख्यमन्त्री बानियाँले भन्नुभयो – ’नयाँ पुस्ताको नाममा फैलाइएका भ्रम र वितण्डाहरूबाट जोगिन र मुलुकलाई समृद्ध बनाउन सिङ्गो राष्ट्र र राजनीतिक दलहरूलाई एकजुट हुन आह्वान गर्दछु ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सहिद स्मारक विकास समिति अध्यक्ष तथा पुर्व मुख्यमन्त्री डोरमणी पौडेलले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय