काठमाडौं । देशका विभिन्न हिमाली तथा पहाडी जिल्लाहरूमा शुक्रबारदेखि परेको हिमपात र वर्षाले जनजीवन प्रभावित बनेको छ। सडक र राजमार्ग अवरुद्ध हुँदा यातायात तथा विद्युत् सेवा ठप्प भएको छ भने लामो समयको खडेरीपछि परेको हिमपात र वर्षाले हिउँदे बालीमा राहत पुग्ने अपेक्षासहित किसानहरू उत्साहित भएका छन् ।



देशका विभिन्न हिमाली तथा पहाडी जिल्लाहरूमा शुक्रबारदेखि हिमपात र वर्षा भइरहेको छ। कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका उच्च भेगमा परेको हिमपातले जनजीवन प्रभावित बनाएको छ भने लामो समयको खडेरीपछि वर्षा र हिमपात हुँदा किसानहरू भने उत्साहित भएका छन्। रुकुमपूर्वमा लगातारको हिमपातका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । लोकमार्गको लुकुम–पातिहाल्ना खण्डमा बाक्लो हिउँ जमेपछि यातायात ठप्प हुँदा काठमाडौंबाट रुकुमपूर्व र पश्चिमतर्फ गएका बसहरू बाटोमै फसेका छन् । यात्रुहरू चिसोमा अलपत्र परेपछि प्रहरी र स्थानीय तहको समन्वयमा उद्धार कार्य भइरहेको छ ।
गण्डकी प्रदेशको बागलुङस्थित नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ। हिमपातले उपत्यका सेताम्य बनेको छ भने अत्यधिक चिसोका कारण जनजीवन प्रभावित भएको छ। तर लामो समयदेखि वर्षा नहुँदा सुक्दै गएको बालीमा यसले राहत पु¥याउने स्थानीय किसानको विश्वास छ। यस्तै सुदूरपश्चिम प्रदेशका बैतडी, डडेल्धुरा, दार्चुला, बझाङ र डोटीका उच्च लेकाली क्षेत्रमा हिमपात हुँदा दशरथचन्द, जयपृथ्वी र भीमदत्त राजमार्ग अवरुद्ध भएका छन्। हिमपातसँगै विद्युत् सेवा पनि प्रभावित भएको छ ।
कर्णाली प्रदेशका मुगु, हुम्ला, डोल्पा, जुम्ला र कालीकोटका उच्च भेगमा पनि हिमपात भएको छ। चिसो बढ्दा दैनिक जनजीवन कष्टकर बनेको छ भने हिमपात र वर्षाले हिउँदे बाली सप्रिने अपेक्षामा किसानहरू खुसी देखिएका छन्। मौसमविद्हरूले केही दिन मौसम बदली रहने जनाउँदै सतर्कता अपनाउन आग्रह गरेका छन् ।



