काठमाडौं । सरकारले संसद्मा दर्ता गराएको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक– २०८०’ विरुद्ध देशभरका शिक्षक आन्दोलित भएका छन् । देशभरबाट आएका हजारौं शिक्षकहरु आज काठमाडौंको सडकमा उत्रिएका हुन् । विभिन्न प्रदेशबाट आएका शिक्षकहरु काठमामाडौंको माइतीघर मण्डलमा भेला भएका छन् ।

नेपाल शिक्षक महासंघको अगुवाईमा भएको आन्दोलनमा उनीहरुले शिक्षकको हकहितविरोधी विधेयक ल्याएको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी समेत गरेका छन् । महासंघले विभिन्न १८ बुँदे असहमति राखेको छ । ती माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी समेत दिएको छ । आन्दोलनमा सामुदायिक र संस्थागत–निजी तथा आवासीय विद्यालयका शिक्षकहरुसमेत सहभागी छन् । आन्दोलनका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौ आएपछि पठन पाठन ठप्प भएको छ ।






