धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६, सेल्फीडाँडामा मंगलबार माइक्रो र ट्यांकर एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार कोसी लोकमार्गअन्तर्गत सेल्फीडाँडामा बिहान करिब ११ः३० बजे दुर्घटना भएको हो। धरानबाट तेह्रथुमतर्फ जाँदै गरेको प्र.१–०२–००१ ज ४४४१ नम्बरको माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको को १ ख ७५२० नम्बरको ट्यांकर एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा माइक्रो चालक तेह्रथुमको फेदाप गाउँपालिका–१ का ४२ वर्षीय सञ्जय मास्के र माइक्रोमा सवार भोजपुरको पौवादुम्मा गाउँपालिका–३, चम्तामका ३८ वर्षीय कुलप्रसाद थापा मगर घाइते भएका छन्। प्रहरीका अनुसार चालक मास्केको शरीरका विभिन्न भाग तथा खुट्टामा चोट लागेको छ भने थापा मगरको टाउकोमा चोट लागेको छ। दुवै घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।



दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो। प्रहरीले दुर्घटनामा संलग्न माइक्रो, ट्यांकर तथा ट्यांकर चालक मोरङको पथरी शनिश्चरे नगरपालिका–८, मिलनचोकका ३८ वर्षीय कृष्णकुमार मगरलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।



