धनकुटामा घरमै राहदानी वितरण सेवा प्रभावकारी बन्दै गएको छ। हुलाक विभागमार्फत सञ्चालित ‘घरमै राहदानी वितरण सेवा’ जिल्लाका सातवटै स्थानीय तहमा विस्तार भएसँगै हालसम्म १६६ जना सेवाग्राहीले घरमै राहदानी प्राप्त गरेका छन्। सेवा तीन नगरपालिका र चार गाउँपालिकामा लागू गरिएको हो।
जिल्ला हुलाक कार्यालय धनकुटाका प्रमुख रामकुमार श्रेष्ठका अनुसार हालसम्म आठ चरणमा १६६ जनालाई घरमै पुगेर राहदानी वितरण गरिएको छ। सरकारले नागरिकलाई कार्यालयसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्दै सहज रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले यो सेवा विस्तार गरेको हो।



विशेषगरी वैदेशिक रोजगारी, अध्ययन तथा अन्य प्रयोजनका लागि राहदानी आवश्यक पर्ने नागरिकलाई जिल्ला सदरमुकामसम्म आउनुपर्ने झन्झट हटाउन सेवा प्रभावकारी बनेको कार्यालयको भनाइ छ। जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच गत वैशाख १४ गते सम्झौता भएपछि जेठ १ गतेदेखि सेवा सञ्चालनमा आएको थियो।
सेवाग्राहीले घरमै राहदानी प्राप्त गरेपछि समय र खर्च दुवै बचत भएको अनुभव सुनाएका छन्। यसअघि राहदानी तयार भएपछि लिनका लागि पुनः जिल्ला प्रशासन कार्यालय पुग्नुपर्ने बाध्यता थियो। अहिले हुलाक विभागले स्थानीय तहसँग समन्वय गरेर राहदानी सेवाग्राहीकै घरमा पुर्याउने व्यवस्था मिलाएको छ। जिल्ला प्रशासन कार्यालय धनकुटाले ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गरी सेवा अझ प्रभावकारी बनाइने जनाएको छ। यस सेवाले सरकारी सेवा प्रवाहलाई थप सहज, छिटो र नागरिकमैत्री बनाएको विश्वास गरिएको छ।



