धार्मिक तथा पर्यटकीय गन्तब्यका रुपमा परिचित कालिञ्चोक भगवतिको मन्दिर पुग्ने सडक धमाधम कालोपत्रे भइरहेको छ । कालिञ्चोक प्रवेश गर्ने मुख्य मार्ग देउराली कुरी सडकखण्डको देउराली बजार देखी ओढारेसम्मको ५ किलोमिटर सडककमा कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । चरिकोटस्थित पूर्वाधार विकास कार्यालय दोलखाले उक्त सडक खण्ड कालोपत्रेका लागि निर्माण कम्पनी याक्थुमहाङ–दाप्चा–सीमपानी जेभीसँग सम्झौता गरेको थियो ।
५ किलोमिटर सडकमध्ये २ किलोमिटर दुरीमा सडक ढलानको काम सम्पन्न भैसकेको छ भने बाँकी ३ किलोमिटरमा प्रमिक्स प्रविधिको कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । निर्माण कम्पनीले मन्दिर जाने पर्यटकहरुलाई सहज हुनेगरी सडकको एकातर्फीबाट कालोपत्रेको काम गरिरहेको छ ।



दोलखाको मुख्य धार्मिक स्थल कालिञ्चोक पुग्ने सडकमा पूर्वाधार विकास कार्यालयले देउराली कुरी खण्डको ५ किलोमिटर सडकमा नाला निर्माण, टेवा पर्खाल, ढलान र कालोपत्रे गर्ने काम भइरहेको छ । पूर्वाधार बिकास कार्यालय दोलखाले सो सडकखण्डमा झण्डै १२ करोड ७१ लाख बजेट विनियोजन गरी काम सुरु गरेको थियो । बाकी सडक कालोपत्रेका लागि ठेक्का प्रक्रियामा रहेको कार्यालयले जनाएको छ ।
दोलखा सदरमुकाम चरिकोटबाट १७ किलोमीटर यात्रापछि कालिन्चोक कुरि बजार पुगिन्छ । सो सडकको पहिलो खण्ड चरिकोट देउराली ५ किलोमीटर सडक कालोपत्रे सम्पन्न भैसकेको छ । सडक निर्माण पुरा भएपछि कालिञ्चोक जाने आन्तरिक तथा बाह्य धार्मिक पर्यटकहरुलाई निकै सहज हुने भएको छ । सडक कालोपत्रे भएपछि ब्यवसाय समेत फस्टाएको ब्यवसायीहरुले बताएका छन् ।
देउराली देखि कुरी खण्डमा हिउँदको समयमा हिमपात हुने भएपछि कार्यालयले भिरालो सडकमा ढलान गरिएको छ । भिरालो सडकमा हिमपात हुने र कालोपत्रे गर्दा सवारी साधन चिप्लीने हुँदा त्यस्ता ठाउँमा ढलान गरिएको हो ।



